
सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। गत शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी आईसीयूमा उपचार भइरहेको थियो।

बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार मण्डलको आज बिहान २:०५ बजे उपचारकै क्रममा मृत्यु भएको हो। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर घरबाट करिब २०० मिटर टाढा उनले आगो लगाएका थिए।

पछिल्ला केही दिनयता देशमा आत्मदाहका घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उनको पनि शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसैगरी शनिबार काठमाडौंको बुद्धनगरमा पनि अर्का एक व्यक्तिले आत्मदाह गरेका छन्।

लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य, सामाजिक समस्या र समयमै सहयोग तथा परामर्शको आवश्यकता झन् गम्भीर रूपमा उजागर गरेको छ।































