
धनगढीः विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) सम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले चैतन्य पाठशाला, धनगढीमा आठौँ छुकछुके रोबोट निर्माण कार्यशाला–२०८३ सुरु भएको छ। विद्यालयका प्रधानाध्यापक प्रेमनिधि जोशीको प्रमुख आतिथ्यतामा सुरु भएको चारदिने कार्यशाला श्रावण ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।

गोदावरी आविष्कार केन्द्र (GiC)को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यस कार्यशालामा विद्यार्थीहरूले रोबोट निर्माणका विभिन्न चरणहरूमा प्रत्यक्ष सहभागिता जनाउनेछन्। कार्यशालाको पहिलो दिन 3D डिजाइन, दोस्रो दिन मेकानिकल एसेम्बली, तेस्रो दिन प्रोग्रामिङ तथा इलेक्ट्रोनिक परीक्षण, र चौथो दिन अभिभावक भेटघाटसँगै रोबोट फुटबल प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम रहेको छ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्नै रोबोट निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्। यसले उनीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता, टोलीगत कार्यकौशल तथा नवप्रवर्तनशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


कार्यक्रमका प्रशिक्षक शेखर राम साउदले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सिकाइलाई जोड दिँदै विद्यार्थीहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नवप्रवर्तनतर्फ प्रेरित गरिने बताए। प्रधानाध्यापक प्रेमनिधि जोशीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्रविधिप्रतिको रुचि बढाउनुका साथै भविष्यका वैज्ञानिक, इन्जिनियर र नवप्रवर्तक उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यशालाको अन्तिम दिन अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूले निर्माण गरेका रोबोटहरूको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगिता आयोजना गरिनेछ, जसले कार्यशालालाई अझ आकर्षक बनाउने आयोजकले जनाएको छ।































