
काठमाडौं : मनसुनको मौसमलाई लक्षित गर्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।


एनसेलका अनुसार ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्डबारे एसएमएस सूचना प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको ग्राहकको खातामा जम्मा हुनेछ। ग्राहकले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ भने प्राप्त क्यासब्याक एक साताभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत रु. ५० देखि ९९ सम्मका प्याकमा ५ प्रतिशत, रु. १०० देखि २०० सम्मका प्याकमा १० प्रतिशत, रु. २०१ देखि ४९९ सम्मका प्याकमा १५ प्रतिशत तथा रु. ५०० वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। ग्राहकले प्रत्येक योग्य प्याक खरिद गर्दा नयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यद्यपि, यो रिवार्ड अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वा नगदमा साट्न भने मिल्ने छैन। प्राप्त भएका क्यासब्याकहरू एपमा जम्मा गरेर निर्धारित अवधिभित्र प्रयोग गर्न सकिने व्यवस्था छ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले कम्पनीले ग्राहकलाई केन्द्रमा राखेर थप मूल्य र सुविधा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार यो अफरले ग्राहकको बचत मात्र होइन, डिजिटल अनुभवलाई पनि थप समृद्ध बनाउनेछ।
उनले एनसेल एपमार्फत हिमालयन जाभाका पेय पदार्थमा विशेष सुविधा, ट्रिप टर्बोमार्फत यात्रा योजना तथा अल्टिमाका प्रिमियम लाइफस्टाइल उत्पादनजस्ता विभिन्न साझेदार सेवाको लाभ लिन सकिने उल्लेख गर्दै एनसेल एपलाई विशेष अफरहरूको प्रमुख प्रवेशद्वारका रूपमा विकास गरिएको बताए।
कम्पनीका अनुसार यो अभियान केवल कल र डेटा सेवामा सीमित नभई डिजिटल इकोसिस्टम विस्तार गर्ने रणनीतिक प्रयासको हिस्सा हो। एनसेल एपको प्रयोग बढाउँदै ग्राहकलाई दैनिक जीवनमा उपयोगी विभिन्न सेवा र साझेदारीसँग जोड्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।
यो मनसुन अफर सीमित अवधिका लागि मात्र सञ्चालन हुनेछ र एनसेलका प्रिपेड ग्राहकहरूले मात्र यसको लाभ लिन सक्नेछन्।






























