
नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारी साधन अब एनसेलको आईओटी सिममार्फत इन्टरनेटसँग जोडिने भएका छन्। एनसेल र बीवाईडीको नेपालका आधिकारिक वितरक साइमेक्स इन्कबीच भएको साझेदारीसँगै प्रत्येक बीवाईडी गाडीमा एनसेलको आईओटी सिम जडान गरिने भएको हो।

आईओटी सिममार्फत गाडीमा छुट्टै उपकरण, मोबाइल फोन वा वाई–फाई हटस्पट आवश्यक नपर्ने जनाइएको छ। यसबाट बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरू सहज रूपमा प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताले गाडीको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन लिन सक्नेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो सहकार्यले बीवाईडी सवारीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीलाई थप सहज बनाउने बताए। उनका अनुसार स्थानीय मोबाइल नेटवर्कमार्फत नेभिगेसनलगायत सेवा अझ भरपर्दो बनाउन सहयोग पुग्नेछ।


यो सुविधा नयाँ ग्राहकमा मात्र सीमित नहुने भएको छ। यसअघि नै बीवाईडी सवारी खरिद गरेका ग्राहकले पनि नेपालभरका १३ आधिकारिक सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई आईओटी सिम जडान गर्न सक्नेछन्।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका इन्टेलिजेन्ट सुविधाको अनुभवलाई थप उन्नत बनाउने बताए। ग्राहकअनुसार कनेक्टिभिटी प्लान, वैधता र शुल्क भने सवारी साधन तथा सेवा प्याकेजअनुसार फरक हुने जनाइएको छ।































