
बैतडी:सपना पूरा गर्न ठूलो सहर, सम्पन्न परिवार वा सहज परिस्थिति नै चाहिन्छ भन्ने हुँदैन। दृढ अठोट, निरन्तर मेहनत र कठिनाइसँग नडराउने साहस भए लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बैतडीको दशरथचन्द नगरपालिका–१ मुडापका २३ वर्षीय बिक्रम सिंह भाट।

सामान्य किसान परिवारमा जन्मिएका बिक्रमका बुवा प्रेमसिंह भाट रोजगारीका लागि भारतमा छन् भने आमा शान्ति भाटले सीमित स्रोतसाधनबीच उनको शिक्षामा साथ दिइन्। गाउँकै राष्ट्रिय मावि पालीबाट प्राथमिक शिक्षा सुरु गरेका उनले गुरुखोलास्थित मणीलेक माविबाट एसईई र महेन्द्रनगरको कञ्चन विद्यामन्दिरबाट आईएस्सी उत्तीर्ण गरे।
बाल्यकालदेखि नै आकाशमा उड्ने सपना देखेका बिक्रम सन् २०२३ मा दक्षिण कोरिया पुगे। नयाँ देश, नयाँ भाषा र फरक प्रणालीका कारण पाइलट बन्ने यात्रा सहज थिएन। कोरियन भाषाको सामान्य ज्ञानसमेत नभएका उनले पढाइ, काम र दैनिक जीवनसँगै भाषा सिक्दै पाइलट प्रशिक्षणको बाटो खोजे।

पाइलट प्रशिक्षणका अधिकांश विषय कोरियन भाषामा अध्ययन गर्नुपर्ने भएपछि चुनौती थपियो। उड्डयन नियम, मौसम, नेभिगेसन र विमान सञ्चालनजस्ता विषय नयाँ भाषामा बुझेर परीक्षा दिनुपर्ने थियो। त्यससँगै उनी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै आफ्नै खर्च धान्न कामसमेत गर्थे।

बिहान विश्वविद्यालयका कक्षा, त्यसपछि घन्टौँ यात्रा गरेर पाइलट प्रशिक्षण र राति अबेरसम्म काम—यही संघर्षपूर्ण दैनिकीबीच उनले आफ्नो लक्ष्यलाई निरन्तरता दिए। पाइलट प्रशिक्षणमा आफ्नै कमाइबाट करिब २० लाख रुपैयाँ खर्च गरेका बिक्रमले कठिनाइका बाबजुद हिम्मत हारेनन्।
उनको संघर्षले अन्ततः सफलता पायो। २० अगस्ट २०२६ मा पाइलटको परीक्षा उत्तीर्ण गरेसँगै वर्षौँदेखिको सपना पूरा भयो। उनका अनुसार, कोरियामा पाइलटको परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बन्ने अवसर उनले पाएका छन्।
हाल उनी स्पोर्ट एयरक्राफ्ट उडाउन थालेका छन्। अब उनको लक्ष्य व्यावसायिक पाइलट बन्ने तालिम पूरा गर्नु हो। बिक्रमको यात्राले गाउँको सामान्य परिवेशबाट पनि दृढ इच्छाशक्ति र निरन्तर मेहनतका बलमा अन्तर्राष्ट्रिय आकाशमा आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ।































