
महेन्द्रनगरः लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगरमा १७औँ छुकछुके रोबोट कार्यशाला २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ। असोज २ गतेदेखि सुरु भएको उक्त कार्यशाला असोज ५ गते समापन हुने कार्यक्रम रहेको छ। कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यस कार्यशालाले विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEAM) शिक्षाप्रति नयाँ उत्साह सिर्जना गरेको छ।

कार्यशालाको उद्घाटन समारोहमा विद्यालयका प्राचार्य श्री श्याम मौनीले २१औँ शताब्दीमा केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरूले व्यावहारिक, परियोजनामूलक तथा हातले गरेर सिक्ने (Hands-on Learning) अवसर प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता तथा आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यशालामा सहभागी विद्यार्थीहरूले छुकछुके रोबोटको डिजिटल डिजाइन, यान्त्रिक संयोजन (Mechanical Assembly), इलेक्ट्रोनिक जडान तथा प्रोग्रामिङ सम्बन्धी सीपहरू सिकिरहेका छन्। विशेष गरी मेकानिकल, इलेक्ट्रोनिक्स र सफ्टवेयरको समिश्रण रहेको यो उच्चस्तरीय मेकाट्रोनिक्स (Mechatronics) परियोजना ले विद्यार्थीहरूलाई आधुनिक प्रविधिको वास्तविक अनुभव प्रदान गरिरहेको छ।


कार्यशालाका प्रशिक्षक शेखर राम साउद, जो सुदूरपश्चिमका चर्चित GenZ STEAM Trainer का रूपमा परिचित हुनुहुन्छ, ले विद्यार्थीहरूलाई आधुनिक रोबोटिक्स तथा नवप्रवर्तनका अवधारणाहरू व्यवहारिक रूपमा सिकाइरहनुभएको छ। उहाँले विद्यार्थीहरूलाई “हेड, ह्यान्ड र हार्ट” सिकाइ पद्धतिअनुसार सोच्ने, बनाउने र प्रयोग गर्ने संस्कृतिको विकास गर्न प्रेरित गरिरहनुभएको छ।
कार्यक्रमको अन्तिम दिन विद्यार्थीहरूले आफ्नै टोलीद्वारा निर्माण गरिएका छुकछुके रोबोटहरूको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछन्। विद्यालय प्रशासनका अनुसार कार्यशालाले विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको रुचि अझ बढाएको छ र सहभागी विद्यार्थीहरूले उत्साहका साथ सिकाइ प्रक्रियामा सहभागिता जनाइरहेका छन्।
लिटिल बुद्ध एकेडेमीमा सञ्चालन भइरहेको १७औँ छुकछुके रोबोट कार्यशाला सुदूरपश्चिममा व्यवहारिक STEAM शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।






























