
बझाङः चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। सेप्टेम्बर १४ देखि १७ (भदौ २९ देखि असोज १) सम्म सञ्चालन भएको उक्त बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र द्विपक्षीय व्यापारका विविध आयाममा छलफल भएको छ।चीनको पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको यस बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। दार्चुलाबाट भने बाटो अवरुद्ध भएका कारण एक जना प्रतिनिधि मात्र सहभागी हुन सकेका थिए।

उरै नाका खुलाउन विशेष पहलबैठकमा नेपाली पक्षले विशेष गरी बझाङको सीमावर्ती क्षेत्रमा रहेको उरै नाकालाई आधिकारिक रूपमा सञ्चालनमा ल्याउन जोड दिएको छ। कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उरै नाकालाई व्यवस्थित गरी स्थानीय बासिन्दाको आवतजावत, व्यापार तथा तीर्थयात्रीको यात्रा सहज बनाउनुपर्ने विषय नेपाली टोलीले प्रमुखताका साथ उठाएको छ।साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराका अनुसार सीमावर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएका समस्या समाधान, पशुचौपायाको चरिचरन तथा विगतमा हुँदै आएको ताक्लाकोट आवतजावतलाई पुनः सहज बनाउनुपर्ने विषयमा चिनियाँ पक्षको ध्यानाकर्षण गराइएको छ।

बैठकका मुख्य एजेन्डाहरू:सीमा अपराध नियन्त्रण: सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी रोक्न आपसी समन्वय र सहकार्य थप मजबुत बनाउने।व्यापार सहजीकरण: नेपाल–चीनबीचको परम्परागत व्यापारलाई निरन्तरता दिने तथा रैथाने उत्पादनको आदानप्रदानलाई प्रोत्साहन गर्ने।कैलाश मानसरोवर यात्रा: तीर्थयात्रीहरू र सीमावर्ती क्षेत्रका नागरिकको आवतजावतलाई सरल र सुरक्षित बनाउने।चिनियाँ पक्षको प्रतिबद्धताबैठकमा बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा, सशस्त्र प्रहरी बलका डीएसपी तथा जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी लगायतको सहभागिता थियो।नेपाली पक्षले उठाएका माग र सुरक्षा चासोप्रति चिनियाँ अधिकारीहरू सकारात्मक देखिएका छन्।

उनीहरूले स्थानीय स्तरबाट सम्बोधन हुन सक्ने विषय तत्काल हल गर्ने र अन्य नीतिगत विषयहरू माथिल्लो निकायमा छलफल गरी छिट्टै जानकारी गराउने प्रतिबद्धता जनाएका छन्। आगामी दिनमा पनि यस्ता सीमा सुरक्षा बैठकलाई नियमित रूपमा आयोजना गर्ने दुवै पक्षबीच सहमति भएको छ।






























