
न हावा पर्छ न त यहाँ पानी पर्छ,
तिमी नहुँदा दोधारमा जवानी पर्छ।
–
तिम्रो दिलको बाटो कति कठोर रहेछ,
रित्तो हात फर्किँदा नि ढुवानी पर्छ।
–
मैले बनाएका ती भाँडाकुँडा चल्छन्,
मलाई छोएपछि मात्रै सुनपानी पर्छ।
–
बा-आमालाई आश्रम पठाएर उ भन्छ,
घरमा फाइदाभन्दा बढी लगानी पर्छ।
–
झूटको खेती गर्नेहरूकै राज चल्छ,
‘सुनामी’ सत्य बोल्दा नोक्सानी पर्छ।
–


गजल /२/
–
युगले सम्झिरहने उसको व्यवहार थियो।
उसको छुट्टै वेग्लै आफ्नो विचार थियो।
–
सत्ता जस्तै बदलियो उसको नजर पनि,
जसको लागि माया एउटा उपहार थियो।
–
चराले वर्षौँ लगाएर बनाएको त्यो गुँड,
पलमै सखाप पार्नु नै त चमत्कार थियो।
–
प्रेम गरेकै कारण ऊ अभियुक्त बनेपछि ,
जेलमा अस्थिपञ्जर र मुटु फरार थियो।
–
कसैले केही ठाने यहाँ कसैले केही ठाने,
योत ‘सुनामी’ माथि गरिएको प्रहार थियो।
–
(बिष्णु दत्त जोशी )सुनामी






























