बझाङको स्वास्थ्य क्रियाकलापहरूको बार्षिक स्वास्थ्य समीक्षाः जयपृथ्वी नगरपालिका जिल्लामै प्रथम, उत्कृष्ट स्वास्थ्यकर्मी र पत्रकार सम्मानित

Image
Nisarga Hospital

बझाङः बझाङ जिल्लामा आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादित स्वास्थ्य क्रियाकलापहरूको दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बझाङको आयोजनामा भएको उक्त समीक्षा कार्यक्रममा विभिन्न स्वास्थ्य सूचकहरूका आधारमा जयपृथ्वी नगरपालिका जिल्लामै प्रथम हुन सफल भएको छ।

CP Hospital Dhangadhi

मूल्याङ्कनका विभिन्न सूचकहरू पार गर्दै बित्थडचिर गाउँपालिका द्वितीय र मष्टा गाउँपालिका तृतीय भएका छन्। उत्कृष्ट स्थान हासिल गर्ने पालिकाहरूलाई कार्यक्रममा दोसल्ला ओढाई सम्मान पत्रसहित विशेष सम्मान गरिएको थियो।

अन्य पालिकाहरूको अवस्था
स्वास्थ्य सूचकका आधारमा जिल्लाका अन्य पालिकाहरूको श्रेणी यस प्रकार रहेको छः
चौथोः सुर्मा गाउँपालिका
पाँचौँः थलारा गाउँपालिका
छैटौँः केदारस्युँ गाउँपालिका
सातौँः छविसपाथीभेरा गाउँपालिका
आठौँः दुर्गाथली गाउँपालिका
नवौँः तल्कोट गाउँपालिका
दसौँः बुङ्गल नगरपालिका
एघारौँः खप्तडछान्ना गाउँपालिका
बाह्रौँः साइपाल गाउँपालिका

nawajiwan

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने सरोकारवाला व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको छ। जसमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका उर्मिला चित्रकार र स्वास्थ्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी साइपाल एफ.एम.की समाचार प्रमुख एवं नेपाल पत्रकार महासंघ बझाङकी जिल्ला उपाध्यक्ष तरुणा जोशी रहनुभएको छ। उहाँहरू दुवै जनालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।

Attariya Hospital

स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख कृष्णबहादुर विष्ट प्रमुख अतिथि रहनुभएको थियो। जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल र सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य प्रशासक योगेशप्रसाद भट्ट लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि विष्टले पहिलेको तुलनामा बझाङको स्वास्थ्य क्षेत्रले ठुलो फड्को मारेको उल्लेख गर्नुभयो। सरकारले पालिका स्तरबाट नै स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र प्रविधियुक्त बनाउन सके बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता हट्ने उहाँको भनाइ थियो। साथै, सूचकमा कमजोर देखिएका पालिकाहरूले आफ्नो बजेट र नीतिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष एवं स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीले अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र पालिकाहरूलाई धन्यवाद दिनुभयो । उहाँले आगामी वर्ष बाँकी पालिकाहरूको पनि सूचक सुधार गर्नका लागि प्राविधिक र प्रशासनिक सहयोग चुस्त बनाउन स्थानीय तहहरूलाई अनुरोध समेत गर्नुभयो। समीक्षा बैठकमा सहभागी सरोकारवालाहरूले कमजोर सूचक भएका पालिकाहरूमा सुधार ल्याउन आगामी दिनमा स्थानीय तहका जनप्रतिनिधि र प्रशासनिक प्रमुखहरूले विशेष भूमिका खेल्नुपर्ने औंल्याएका छन्।