
कञ्चनपुर: अनिरुद्ध माध्यमिक विद्यालय, झलारीमा २०औँ छुकछुके रोबोट कार्यशाला–२०८३ उत्साह र जिज्ञासाका साथ सञ्चालन भइरहेको छ। असोज १७ गतेदेखि सुरु भएको उक्त कार्यशाला असोज २० गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। कार्यशालामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ।

कार्यशालाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई २१औँ शताब्दीका मेसिनहरू कसरी काम गर्छन्, कसरी निर्माण गरिन्छन् र हाम्रो वरिपरि रहेका साधारण वस्तुहरूलाई उपयोगी उत्पादनमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको छ। कार्यक्रममार्फत विद्यार्थीहरूले सिर्जनशील सोच, समस्या समाधान क्षमता तथा प्राविधिक सीप विकास गर्ने अवसर प्राप्त गरिरहेका छन्।
कार्यशालामा सहभागी विद्यार्थीहरूले छुकछुके रोबोट निर्माण प्रक्रियामार्फत डिजाइन, मापन, मेकानिकल संयन्त्र (Mechanism), गियर प्रणाली, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा रोबोट सञ्चालन सम्बन्धी ज्ञान हासिल गरिरहेका छन्। यसले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEAM) शिक्षालाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुर्याइरहेको छ।

कार्यशालाका प्रशिक्षक गोदावरी आविष्कार केन्द्र (GiC) का इन्जिनियर सम्राट भट्ट हुनुहुन्छ। प्रविधिप्रति गहिरो रुचि राख्ने तथा नवप्रवर्तनका क्षेत्रमा सक्रिय टेक इन्थुसियास्ट का रूपमा परिचित भट्टले विद्यार्थीहरूलाई डिजाइनदेखि प्रोग्रामिङसम्मको सम्पूर्ण प्रक्रिया सरल र रोचक तरिकाले सिकाइरहनुभएको छ। उहाँको मार्गदर्शनमा विद्यार्थीहरूले आफ्नै हातले रोबोट निर्माण गर्दै सिकाइलाई व्यवहारमा उतारिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक श्री डीडी अवस्थी ले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता तथा प्राविधिक दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षा क्षेत्रमा समर्पित, मेहनती तथा दूरदर्शी नेतृत्वका रूपमा परिचित अवस्थीले विद्यालयमा व्यवहारिक तथा सीपमूलक शिक्षालाई विशेष प्राथमिकता दिँदै आउनुभएको छ।
विद्यालय परिसरमा हाल नवप्रवर्तन, सिकाइ र सहकार्यको उत्साहपूर्ण वातावरण देखिएको छ। सहभागी विद्यार्थीहरू रोबोट निर्माणका विभिन्न चरणमा सक्रिय रूपमा संलग्न रहँदै नयाँ अनुभव र सीप हासिल गरिरहेका छन्।
२०औँ छुकछुके रोबोट कार्यशालाले विद्यार्थीहरूलाई केवल मेसिनबारे ज्ञान दिने मात्र नभई भविष्यका आविष्कारक, इन्जिनियर र समस्या समाधानकर्ताको रूपमा अघि बढ्न प्रेरणा प्रदान गरिरहेको छ।






























