कैलालीको त्रिनगर नाकामा घर फर्किएका यात्रुमाथि ‘अटो आतंक’, तोकिएको भाडाभन्दा २० गुणासम्म बढी असुली

Image
Nisarga Hospital

धनगढीः भारतबाट लामो यात्रा गरेर घर फर्किएका नेपाली यात्रुहरू कैलालीको त्रिनगर भन्सार नाकामा पुगेपछि अटो चालक र सामान बोक्ने बिचौलियाको मनपरी भाडाको मारमा पर्ने गरेको गुनासो बढेको छ। थकित अवस्थामा सीमा नाका आइपुगेका यात्रुलाई लक्षित गरी तोकिएकोभन्दा कयौँ गुणा बढी भाडा असुल्ने गरिएको यात्रुहरूको आरोप छ।

CP Hospital Dhangadhi

त्रिनगर भन्सार नाकाबाट धनगढी ट्राफिक चौराहसम्म अटो भाडा ३० रुपैयाँ र बसपार्कसम्म ४० रुपैयाँ तोकिएको छ। तर, केही अटो चालकले भारतबाट फर्किएका यात्रुसँग पाँच सयदेखि आठ सय भारतीय रुपैयाँसम्म असुल्ने गरेको गुनासो छ। सामान बोकिदिने र बाटोमा हुने प्रहरी जाँचमा समन्वय गरिदिने भन्दै अतिरिक्त रकम माग्ने गरिएको यात्रुहरूको भनाइ छ।

भारतको तामिलनाडुबाट फर्किएका आदित्य खड्का त्रिनगर नाका पुग्नेबित्तिकै यस्तै समस्यामा परे। उनका अनुसार बसपार्कसम्म पुग्न अटो चालकले आठ सय भारु मागेका थिए। उनले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेपछि प्रहरीले सु.प्र.प्र ०१–००१ ह ७८५५ नम्बरको अटो चालकलाई नियन्त्रणमा लिएको थियो।

nawajiwan

सोधपुछका क्रममा भारतबाट फर्किएका अछामको रामारोशनका कमल परियारसँग पनि सामान बोकेको भन्दै बसपार्कसम्म आठ सय भारु लिएको खुलेपछि प्रहरीले रकम फिर्ता गराएको थियो। त्यसपछि सु.प्र.प्र ०१–००१ ह ४७६७ नम्बरको अटो र चालकलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ।

Attariya Hospital

स्थानीयका अनुसार बिहान भारतबाट फर्किने यात्रुको चाप बढी हुने भए पनि त्यही समयमा सीमा नाकामा प्रहरीको पर्याप्त उपस्थिति नहुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन्। विशेषगरी धेरै सामान बोकेका यात्रुलाई लक्षित गरी मनपरी रकम असुल्ने गरिएको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले तोकिएकोभन्दा बढी भाडा असुल्ने जोसुकैलाई कानुनी कारबाही गरिने जनाएको छ। प्रहरीका अनुसार सीमा नाकालगायत विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ। यात्रुलाई कुनै समस्या परे तत्काल प्रहरीसँग सहायता माग्न सकिने डिएसपी योगेन्द्र तिमिल्सिनाले बताएका छन्।

यात्रुको सहज आवागमनका लागि त्रिनगर नाकामा प्रभावकारी यात्रु सहायता कक्ष, नियमित अनुगमन र तोकिएको भाडाको स्पष्ट सूचना आवश्यक देखिएको छ। भन्सार तथा प्रहरी जाँचको नाममा यात्रुमा त्रास सिर्जना गरी अतिरिक्त रकम असुल्ने प्रवृत्तिमाथि समेत सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने देखिन्छ।