
धनगढीमा मादक पदार्थ सेवन (मापसे) चेकिङमा खटिएका तीन प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा उनीहरू घाइते भएका छन्।

बुधबार राति धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्पनजिक से ३ प ८९५० नम्बरको मोटरसाइकलले चेकिङमा खटिएका प्रहरीलाई ठक्कर दिएको हो।
दुर्घटनामा प्रहरी हवल्दार राधिका कुमारी शाही, उज्वलसिंह साउँद र प्रहरी सहायक हवल्दार कमला खत्री घाइते भएका छन्। उनीहरूको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनापछि मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरी र पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समीर चौधरीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






























