
कैलालीको अत्तरियामा स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सकीय संवाद र स्वास्थ्य परीक्षणलाई एउटै मञ्चमा जोड्दै ‘स्वास्थ्य युवा महोत्सव–२०८३’ आयोजना हुने भएको छ। कार्तिक १३ देखि १८ गतेसम्म सञ्चालन हुने छदिने महोत्सवमा करिब १८ हजार युवा तथा समुदायका नागरिकलाई सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ।

समृद्ध सुदूरपश्चिम अभियान तथा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुने महोत्सवले विशेषगरी किशोर–किशोरी, युवा तथा १२ देखि ४५ वर्ष उमेर समूहका महिला–पुरुषलाई लक्षित गरेको छ।

बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले महोत्सवले स्वास्थ्यसम्बन्धी जानकारीलाई नागरिकको पहुँचसम्म पुर्याउने उद्देश्य राखेको बताए। उनका अनुसार चिकित्सक, प्रोफेसर, अस्पताल, विद्यार्थी, युवा र समुदायलाई एउटै मञ्चमा ल्याएर स्वास्थ्यका विषयमा प्रत्यक्ष सवाल–जवाफ र अन्तरक्रिया गराइनेछ।

महोत्सवमा स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोग तथा जीवनशैलीसँग सम्बन्धित समस्याबारे विशेषज्ञ चिकित्सकसँग संवाद गरिनेछ। त्यसपछि स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सञ्चालन हुनेछ। परीक्षणबाट सम्भावित रोगको प्रारम्भिक पहिचान, चिकित्सकीय परामर्श, पोषणसम्बन्धी सुझाव तथा आवश्यक थप परीक्षणका लागि सिफारिस गरिने आयोजकले जनाएको छ।
महोत्सवमा कक्षा ७ देखि माथिका विद्यार्थी, विद्यालय तथा कलेजका युवा, महिला–पुरुष, बिरामी तथा समुदायका नागरिक, शिक्षक र सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन्। विशेषगरी मुक्तकमैया शिविरका नागरिकलाई प्राथमिकता दिइने अध्यक्ष मल्लले बताए।
स्वास्थ्य महोत्सवमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, रक्तदान तथा छाला र आँखा दानका लागि उत्प्रेरणात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
‘डाक्टरसँग कुरा गरौँ, स्वास्थ्यबारे बुझौँ; समयमै जाँच गरौँ, रोगबाट बचौँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा प्रदेश तथा स्थानीय सरकार, सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, विशेषज्ञ चिकित्सक तथा प्रोफेसर, विद्यालय–कलेज, स्वास्थ्यसम्बन्धी संघसंस्था, निजी क्षेत्र, सामाजिक संस्था र सञ्चारमाध्यमलाई समेत सहकार्यमा जोडिने बताइएको छ।
आयोजकका अनुसार स्वस्थ युवा नै उत्पादनशील जनशक्तिको आधार भएकाले स्वास्थ्य र आर्थिक समृद्धिबीचको सम्बन्ध स्थापित गर्दै महोत्सवमार्फत सुदूरपश्चिमको स्वास्थ्य, रोजगारी, व्यवसाय र समग्र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।






























