
सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन्। जोशीले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख मियाँले जोशीको राजीनामा बिहीबार नै स्वीकृत गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिएका छन्।


मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले २०८१ साउन २८ गते जोशीलाई सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए। जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै पहिलो कार्यकालमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका थिए।
यसपटक भने सत्ता समीकरण परिवर्तन भई नयाँ राजनीतिक नेतृत्वमा प्रदेश सरकार गठन भएको करिब दुई महिनापछि जोशीले पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएसँगै सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ताको पद रिक्त भएको छ।
संविधानको धारा १६० अनुसार प्रत्येक प्रदेशमा मुख्य न्यायाधिवक्ताको व्यवस्था छ। मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा संवैधानिक तथा कानुनी विषयमा प्रदेश सरकार र सरकारका अधिकारीलाई राय–सल्लाह दिने तथा अदालतमा प्रदेश सरकारको तर्फबाट कानुनी प्रतिरक्षा गर्ने जिम्मेवारीमा रहन्छन्।
जोशीले यसअघि पनि प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै मुख्य न्यायाधिवक्ताको जिम्मेवारी छाडेका थिए। प्रदेशको सत्ता समीकरण फेरिएसँगै पुनः राजीनामा दिएपछि अब रिक्त पदमा नयाँ मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।






























