
अत्तरिया : नवजीवन सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका–१ मा सञ्चालित कैलाली हस्पिटल प्रा.लि. बीच सहकारीका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सहकारीका सदस्यलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतापछि नवजीवन सहकारीमा आबद्ध सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलमा उपचार गराउँदा सम्झौतामा उल्लेखित सेवाहरूमा विशेष छुटको सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपालराज पाठक र कैलाली हस्पिटल प्रा.लि.का अध्यक्ष जनकराज जोशीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवजीवन सहकारीका उपाध्यक्ष उत्तम जोशी, सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, महाप्रबन्धक प्रदीपराज जोशी तथा उपप्रबन्धक (कानुन) जयन्द्र ठकुल्लाको उपस्थिति थियो । त्यस्तै, कैलाली हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश रावल, डा. विवेक जोशी लगायतको सहभागिता रहेको थियो ।
सम्झौताले सहकारीका सदस्यलाई स्वास्थ्य उपचारका लागि थप सहज वातावरण निर्माण हुने अपेक्षा गरिएको छ । पछिल्लो समय स्वास्थ्य उपचारको लागत बढ्दै गइरहेका बेला सहकारी र अस्पतालबीचको सहकार्यले सदस्य तथा उनीहरूका परिवारलाई आर्थिक रूपमा समेत राहत पुग्ने नवजीवन सहकारीले जनाएको छ ।
नवजीवन सहकारीका अनुसार सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा, वित्तीय सेवा तथा अन्य आवश्यक क्षेत्रमा विभिन्न संस्थासँग सहकार्य विस्तार गर्ने नीति लिइएको छ । सोही क्रममा कैलाली हस्पिटलसँग गरिएको सम्झौता पनि सदस्यलाई प्रत्यक्ष लाभ पु¥याउने कार्यक्रमअन्तर्गत रहेको सहकारीको भनाइ छ ।
सम्झौताबाट नवजीवन सहकारीका ठूलो संख्यामा रहेका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलबाट स्वास्थ्य सेवा लिँदा विशेष छुटको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्नुका साथै सहकारी र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई समेत थप मजबुत बनाउने विश्वास गरिएको छ ।































