
अत्तरियाः नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ का सबै नगर अधिवेशन सम्पन्न भएका छन्। क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका , चुरे गाउँपालिका हुदै गौरीगंगा नगरपालिकामा असोज २३ गते नगर अधिवेशन आयोजना गरिएको थियो।

यसैबीच, क्षेत्र नम्बर ४ प्रदेशसभा क्षेत्र (ख) को निर्वाचन अधिवेशन असोज २४ गते हुने भएको छ। अधिवेशन गोदावरी नगरपालिका–२, लोटस गल्लीस्थित सम्पर्क कार्यालयमा दिउँसो १२ बजे सुरु हुने जनाइएको छ।

नेपाली कांग्रेसका नगर सभापति दिलिपकुमार साउद (दिपिन) ले अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।
नगर अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा प्रदेशस्तरीय अधिवेशनका गतिविधि अघि बढेका छन्।































