
धनगढी: कैलालीको धनगढीमा भन्सार छली गरी भारतबाट ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तरकारी बोकेको ट्रकमा ठूलो परिमाणमा मोबाइल डिस्प्ले फेला परेपछि त्रिनगर–गौरीफन्टा नाकाको सुरक्षा जाँच तथा भन्सार प्रक्रियामाथि प्रश्न उठेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहमा शंकाका आधारमा चेकजाँच गर्दा मोबाइल डिस्प्ले र विभिन्न प्रकारका तरकारी फेला पारेको हो।
भारतबाट त्रिनगर–गौरीफन्टा नाका हुँदै धनगढी पुगेको उक्त ट्रक सिमानाकामा समेत जाँच भई भन्सार प्रक्रिया पार गरेर आएको बताइएको छ। प्रहरीले सामान ओसारपसारमा प्रयोग भएको भारतीय नम्बर प्लेटको यूपी २३ टी ८६७५ नम्बरको मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खान रहेका छन्।
तरकारी बोकेको ट्रकमा लुकाएर ठूलो परिमाणमा मोबाइल डिस्प्ले ल्याइएको घटनाले सीमा नाकामा हुने सुरक्षा जाँच र भन्सार निरीक्षणको प्रभावकारिताबारे चासो बढाएको छ। भन्सार प्रक्रिया पार गरेको भनिएको ट्रक धनगढीको ट्राफिक चौराहमा पुगेपछि मात्रै शंकाका आधारमा जाँच हुँदा मोबाइल डिस्प्ले फेला पर्नुले जाँच प्रक्रियामाथि प्रश्न उठाएको हो।
यद्यपि, सामान कसरी भन्सार जाँच पार गरेर धनगढी पुगेको हो भन्ने विषय अझै स्पष्ट भएको छैन। घटनामा कुनै मिलेमतो वा लापरबाही भए–नभएको पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बरामद सामान, मिनी ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।































