
धनगढीः दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, लागूऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ४ हजार ५०५ जना प्रहरी कर्मचारी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलता, जनघनत्व, सम्भावित जोखिम तथा आपराधिक गतिविधिको अवस्थालाई विश्लेषण गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत प्रदेशभर १ हजार १५१ स्थानमा प्रहरी ड्युटी व्यवस्थापन गर्ने तयारी गरिएको छ। मुख्य सहर, बजार क्षेत्र, सार्वजनिक स्थल, यातायातका केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच र सर्च अपरेसन सञ्चालन गरिने प्रहरीले जनाएको छ।

चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा भीडभाड हुने भएकाले मुख्य सडक, बसपार्क तथा यात्रुको आवागमन बढी हुने स्थानमा विशेष निगरानी राखिएको छ। यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै कमान्ड पोस्टमार्फत सुरक्षा गतिविधिलाई व्यवस्थित बनाइएको छ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारीसाधन तथा यात्रुको चेकजाँच गरिरहेका छन्। सवारीसाधनको अवस्था, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र ट्राफिक नियम उल्लङ्घन नियन्त्रणमा समेत प्रहरीले प्राथमिकता दिएको छ। यात्राका क्रममा समस्या परेका नागरिकलाई सहयोग गर्ने र सम्भावित ठगीबाट जोगाउने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरिएको बताए। वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतको कमान्डमा प्रहरी परिचालन गरिने उल्लेख गर्दै उनले जोखिमको प्रकृतिअनुसार निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइने जानकारी दिए।
यसैगरी, सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सतर्कता अपनाएको छ। विशेषगरी तराईका जिल्लाका सीमा नाकामा कुकुरसहितको चेकजाँच सुरु गरिएको छ। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र भयरहित बनाउन प्रदेशभर सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको प्रहरीले जनाएको छ।































