पितृहरूको सम्झनामा प्रेमराज भट्टको पुण्यकार्य : सुप समावेशी विद्यालयमा १ लाख ११ हजारको अक्षय कोष स्थापना

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियाका व्यवसायी प्रेमराज भट्टले आफ्ना स्वर्गीय भाइ निर्मल कुमार भट्टसहित सम्पूर्ण पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। उनले गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्।

CP Hospital Dhangadhi

पितृपक्षअन्तर्गत आश्विन कृष्ण औँसीको अवसर पारेर शनिबार भट्टले आफ्नी पत्नी कृष्णासहित विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

पितृहरूको सम्झनालाई चिरस्थायी बनाउँदै सामाजिक सेवामार्फत उनीहरूप्रति श्रद्धा व्यक्त गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको भट्टले बताएका छन्। उनले विद्यालयको सञ्चालन तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वाससहित उक्त रकम प्रदान गरेका हुन्।

nawajiwan

विशेषगरी शारीरिक रूपमा अशक्त विद्यार्थीहरूले अध्ययन गर्दै आएको सुप समावेशी आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गर्नुले समावेशी शिक्षाको प्रवर्द्धन र विद्यालयलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

पितृहरूको सम्झनामा गरिने धार्मिक तथा सांस्कृतिक कर्मलाई सामाजिक सेवासँग जोड्दै भट्टले गरेको यो पहलले व्यक्तिगत श्रद्धालाई समुदायको हितसँग जोडेको छ। परिवारका दिवंगत सदस्यहरूको स्मृतिमा विद्यालयजस्तो शैक्षिक संस्थामा सहयोग गर्नुले उनीहरूको सम्झनालाई समाजोपयोगी कार्यमार्फत जीवन्त राख्ने प्रयासका रूपमा लिन सकिन्छ।

भट्टले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्यमा सहयोग गर्दै आएका छन्। पितृहरूको सम्झनामा स्थापित यस अक्षय कोषबाट विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।