
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको थ्रीडिभीएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार संस्थाका अध्यक्ष दीपकराज ओझाको अध्यक्षता तथा शेयर सदस्य पुष्कर शर्मा जोशीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओझाले गत असार मसान्तसम्म सहकारीको शेयर पुँजी १७ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको जानकारी दिए। उनका अनुसार संस्थामा बचततर्फ १ करोड २६ लाख ४५ हजार १०१ रुपैयाँ रहेको छ भने लगानीतर्फ १ करोड १६ लाख ८८ हजार ४१२ रुपैयाँ पुगेको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ४२ हजार ६२५ रुपैयाँ खुद नाफा आर्जन गरेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि जोशीले जेनजी युवाहरूको पहलमा सञ्चालन भइरहेको सहकारीले इमानदारीपूर्वक सामाजिक दायित्व निर्वाह गरिरहेको बताए। कोरोना संक्रमण, प्राकृतिक विपद् तथा आर्थिक मन्दीजस्ता चुनौतीका बीच स्थापना भएको छोटो समयमै सहकारीले उल्लेख्य आर्थिक कारोबार गर्न सफल भएको उनको भनाइ थियो।

सामाजिक संस्था थ्रीडिभीएल क्रियसनमा आबद्ध युवाहरूले स्थापना गरेको यस सहकारीको मुख्य उद्देश्य युवाहरूलाई स्वरोजगार बनाउनुका साथै आर्थिक गतिविधिमा सहभागी गराउनु रहेको छ। पाँच वर्षअघि ३० जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।
साधारण सभाका अवसरमा विभिन्न बचत समूह तथा समाजमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सहभागी शेयर सदस्य तथा अतिथिहरूलाई मायाको चिनोस्वरूप सुदूरपश्चिमका विभिन्न शक्तिपीठका तस्बिर फ्रेम गरी प्रदान गरिएको थियो।
कार्यक्रममा लेखा समितिका सदस्य दीपकराज भट्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक डबल साउँदले संस्थाका आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए। संस्थाकी उपाध्यक्ष खगेश्वरी पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कर्जा अधिकृत देवराज भण्डारीले गरेका थिए।































