बैतडीका गाउँमा सडक पुगे पनि सञ्चालनमा छैनन्, बिरामी बोक्न स्ट्रेचरकै भर

Image
Nisarga Hospital

बैतडीः बैतडीका अधिकांश ग्रामीण बस्तीमा बिरामीलाई अस्पताल पुर्‍याउन अझै पनि स्ट्रेचरकै भर पर्नुपर्ने बाध्यता कायम छ। गाउँगाउँमा सडक विस्तार गरिएको दाबी गरिए पनि कच्ची सडक वर्षायाममा अवरुद्ध हुने र कतिपय बस्ती सडक सञ्जालबाटै टाढा रहेकाले स्थानीय नागरिकले उपचारका लागि सास्ती खेप्नुपरेको छ।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार गाउँसम्म पुग्ने कच्ची सडक वर्षा सुरु भएसँगै हिलाम्मे भएर बन्द हुने गरेका छन्। सडकको पहुँच नहुँदा बिरामी, गर्भवती महिला, सुत्केरी तथा वृद्धवृद्धालाई स्ट्रेचरमा बोकेर मुख्य सडकसम्म पुर्‍याउनुपर्ने अवस्था छ। सिगास गाउँपालिकाका स्थानीय युवा पुरुषोत्तम अवस्थीले गाउँमा सडक विस्तार भए पनि नियमित सञ्चालन हुन नसक्दा नागरिकले समस्या भोगिरहेको बताए।

जिल्लाका १० स्थानीय तहमध्ये सिगास, पञ्चेश्वर, डिलाशैनी, शिवनाथ, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकाका दुर्गम बस्तीमा समस्या बढी देखिएको छ। यस्तै दोगडाकेदार गाउँपालिका, दशरथचन्द, पाटन र मेलौली नगरपालिकाका विभिन्न गाउँबस्तीमा समेत बिरामीलाई स्ट्रेचर वा काँधमा बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय शिक्षक आदर्श कोलीले बताए।

nawajiwan

सिगास गाउँपालिकाका सिन्याखेत, कोटेली, ढोकासन, गाँजरी र ढुङ्गाडलगायत बस्तीमा सडकको पहुँच कमजोर छ। पुर्चौडी नगरपालिकाका कोटिला, भटाना र पहरुवा क्षेत्रमा सडक पुगे पनि नियमित सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ। त्यस्तै, डिलाशैनीको धामी गाउँ र सिमार तथा दोगडाकेदारका न्वादेव र रिमलगायत भित्री बस्तीका नागरिकले पनि बिरामी बोक्न स्ट्रेचरकै सहारा लिनुपरेको छ।

पञ्चेश्वर र शिवनाथका कतिपय सीमावर्ती बस्तीबाट स्वास्थ्य संस्था पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ। सडक दुर्गम र अवरुद्ध हुँदा स्थानीय तह तथा रेडक्रसका एम्बुलेन्ससमेत गाउँसम्म पुग्न सक्दैनन्। यसले गम्भीर बिरामी र सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउन कठिनाइ भइरहेको स्थानीयको भनाइ छ।

विशेषगरी रातिको समयमा बिरामी पर्दा स्ट्रेचरमा बोकेर जोखिमपूर्ण गोरेटो बाटो हुँदै मुख्य सडकसम्म पुर्‍याउनुपर्ने बाध्यता झनै कष्टकर बन्ने गरेको छ। समयमै अस्पताल पुग्न नसक्दा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्ने तथा ज्यानसमेत जोखिममा पर्ने सम्भावना बढेको छ।

ग्रामीण सडक निर्माणसँगै तिनको नियमित मर्मतसम्भार र वर्षायाममा पनि सञ्चालनयोग्य बनाउने व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। सडकको पहुँच र प्रभावकारी स्वास्थ्य यातायात सेवा सुनिश्चित हुन नसक्दा बैतडीका दुर्गम बस्तीका नागरिक आधारभूत स्वास्थ्य सेवाबाटै प्रभावित भइरहेका छन्।