
सुदूरपश्चिममा युवा उद्यमशीलता, अनुसन्धान र प्रविधि विस्तारलाई प्रोत्साहन गर्न युथ इनोभेसन ल्याब (YI-Lab) र सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

अत्तरियास्थित क्याम्पसमा सोमबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐर तथा ‘उडान’ (UDAAN) का प्रतिनिधिको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
यस सहकार्यले विद्यार्थीमा डिजिटल सीप विकास, नवप्रवर्तनलाई प्रोत्साहन र स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्राज्ञिक ज्ञान र प्राविधिक क्षेत्रलाई जोड्दै युवालाई उद्यमशीलता तथा अनुसन्धानमा आकर्षित गर्न समझदारीले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

































