
पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँबाट धनगढी आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ स्थित ‘क’ मोड नजिकै सुदूरपश्चिम यातायातको सुपप्र०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो।

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेकोमा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ।
दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भग्वती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी घाइते भएका छन्।




घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको जनाइएको छ। पुष्कर सिंह धामीको बायाँ गाला र नाकमा, भग्वती अवस्थीको दायाँ कुहिनामा तथा निर्मला खड्काको दायाँ घुँडामा चोट लागेको छ। धनञ्जय जोशीले ढाड दुखेको बताएका छन्।
बस कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र बि.क.ले चलाइरहेका थिए। प्रारम्भिक जाँचका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको पाइएको जनाइएको छ।
दुर्घटनापछि बस घटनास्थलमै रहेको भए पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन भइरहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
































