बझाङ जिल्ला अस्पतालमा ६ करोडको बजेट, ५० शैयामा स्तरोन्नति हुँदै; डायलाइसिस र शववाहन सेवा थपिने

Image
Nisarga Hospital

बझाङ: बझाङ जिल्ला अस्पतालको सेवा विस्तार तथा स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न, शववाहन खरिद गर्न र डायलाइसिस सेवा सञ्चालन गर्न खर्च गरिने जनाइएको छ।

CP Hospital Dhangadhi

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर खड्काका अनुसार अस्पतालको अवस्था सुधार तथा सेवा विस्तारका लागि केही महिनाअघि प्रदेश सरकारसमक्ष विशेष पहल गरिएको थियो। अध्यक्ष खड्का र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्दिप ओखेडासहितको टोलीले अस्पतालको स्तरोन्नति र स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारसँग माग गरेको थियो। सोही पहल र मागलाई सम्बोधन गर्दै प्रदेश सरकारले बजेट विनियोजन गरेको हो।

अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएपछि मिर्गौला रोगीहरूले उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। त्यस्तै, अस्पताल ५० शैयामा स्तरोन्नति भई सेवा विस्तार भएपछि जिल्लाका दुर्गम क्षेत्रका नागरिकले सामान्यदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि समेत धनगढी, नेपालगन्ज र काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।

nawajiwan

स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको यो कदम सकारात्मक रहेको अध्यक्ष खड्काले बताए। उनले अस्पतालमा कम्प्युटेड टोमोग्राफी (सीटी स्क्यान) सेवा पनि सञ्चालन गर्न सके बिरामीलाई थप सहज हुने उल्लेख गर्दै त्यसतर्फ समेत सरकारले यथाशीघ्र ध्यान दिनुपर्नेमा जोड दिएका छन्।