
सिगास/बैतडी:

तिहारको अवसर पारेर बैतडीको सिगास गाउँपालिकामा सिगास स्ट्राइकर्स क्रिकेट क्लबले ‘सिगास प्रिमियर लिग (SPL)’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुदको विकास र युवाहरूलाई खेलमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
क्लबले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता
कात्तिक १८ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगिता सिगास गाउँपालिका २–स्थित अर्जुन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई क्लबले टिम दर्ता गरी सहभागिता जनाउन आह्वान गरेको छ ।
प्रतियोगितामा प्रत्येक टिमबाट बढीमा १५ जना खेलाडी राख्न पाइनेछ । खेलाडीले आफ्नो नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । सिगास गाउँपालिकाभित्र कार्यरत कर्मचारीले जुनसुकै टिमबाट पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । गाउँपालिकाका जुनसुकै वडाका टिम भए पनि बढीमा दुई जना खेलाडी अन्य वडाबाट समावेश गर्न सकिने क्लबले जनाएको छ ।
प्रतियोगिता दुई समूहमा विभाजन गरी लिग प्रणालीअनुसार सञ्चालन गरिनेछ । दुवै समूहबाट उत्कृष्ट दुई–दुई टिम छनोट गरी सेमिफाइनल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क २ हजार ५०० रुपैयाँ तोकिएको छ। टिम दर्ता कात्तिक १७ गते दिउँसो १२ बजेसम्म गर्न सकिने सूचनामा उल्लेख छ ।
विजेतालाई पुरस्कार
प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले विभिन्न विधामा नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरेको छ । प्रथम पुरस्कार: रु. २२ हजार २ सय २२, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय पुरस्कार: रु. ११ हजार १ सय ११, ट्रफी, मेडल तथा प्रमाणपत्र, म्यान अफ द टुर्नामेन्ट: रु. १ हजार, मेडल तथा प्रमाणपत्र, बेस्ट बलर: रु. ८ सय, मेडल तथा प्रमाणपत्र, बेस्ट ब्याट्सम्यान: रु. ८ सय, मेडल तथा प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याच: रु. १ सय पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
खेलाडीहरूले खेलको मर्यादा र अनुशासन कायम राख्दै निर्धारित खेल पोसाक (जर्सी) लगाएर उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक खेल सामग्री भने सम्बन्धित टिमले आफैँ व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतियोगिता सफल बनाउन क्लबले सहयोगी मन, व्यवसायी, समाजसेवी तथा खेलप्रेमीहरूलाई आर्थिक तथा अन्य आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । स्थानीय खेलकुदको विकास र नयाँ प्रतिभालाई अवसर प्रदान गर्न सबैको साथ र सहयोग महत्त्वपूर्ण हुने क्लबको विश्वास छ ।
सिगास स्ट्राइकर्स क्रिकेट क्लबका अध्यक्ष आभाष धामीले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि आह्वान गरेका छन् । स्थानीय स्तरमा क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने अपेक्षासहित आयोजना हुन लागेको सिगास प्रिमियर लिगले सिगासको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।



































