
बैतडी:

बैतडीको सिगास गाउँपालिकामा आयोजित प्रथम सिगास प्रिमियर लिग (SPL) सिजन–१ को उपाधि राइजिङ स्टार बेसरा, सिगास गाउँपालिका–१ ले जितेको छ । प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै राइजिङ स्टार बेसराले उपाधि हात पार्दा वडा नं. ३ को टोली उपविजेतामा सीमित भएको छ ।
सिगास स्ट्राइकर्स क्रिकेट क्लबको आयोजनामा कार्तिक १८ गतेदेखि आज कार्तिक २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट ११ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितालाई पोल ‘A’ र पोल ‘B’ मा विभाजन गरी खेल सञ्चालन गरिएको थियो ।
प्रतियोगिताको विजेता राइजिङ स्टार बेसरा सिगास–१ ले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता वडा नं. ३ को टोलीले नगद ११ हजार १ सय ११ रुपैयाँसहित पुरस्कार प्राप्त गरेको सिगास स्ट्राइकर्स क्रिकेट क्लबका अध्यक्ष आभास धामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको थियो । म्यान अफ द टुर्नामेन्टलाई नगद १ हजार रुपैयाँ, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही ८ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो ।
स्थानीय युवाहरूको सक्रियता, सामूहिक श्रमदान र खेलप्रतिको उत्साहले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो । क्रिकेट मैदान सम्याउने, पिच निर्माण गर्ने, नेट जडान गर्ने तथा प्रतियोगिता व्यवस्थापनमा स्थानीय युवाहरूको महत्वपूर्ण योगदान रहेको थियो ।
सिगासमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई प्रतियोगिताले थप उजागर गरेको छ । यसले स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान, खेलकुदको विकास, युवाबीच आपसी एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको अपेक्षा गरिएको छ ।
प्रथम संस्करण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आयोजक क्लब, सहभागी ११ वटै टिम, खेलाडी, सहयोगदाता, स्वयंसेवक तथा खेलप्रेमी दर्शकप्रति धन्यवाद व्यक्त गरिएको छ । आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाउने अपेक्षासमेत गरिएको छ ।


































