
बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङले चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक महिनामा जिल्लाभर १६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता गरेको छ। प्रहरीले उक्त अवधिमा ८ किलो ४६० ग्राम चरेस र दुई थान अवैध भरुवा बन्दुकसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी ५, महिला तथा बालबालिकासम्बन्धी ३, आत्महत्या १, सामाजिक अपराध १, सवारी ज्यान १ र अन्य ५ वटा रहेका छन्। यस अवधिमा २१ जना प्रतिवादी पक्राउ परेका छन् भने एक जना पक्राउ पर्न बाँकी छन्।
लागूऔषधसम्बन्धी दुई मुद्दामा तीन जना पुरुष पक्राउ परेका छन्। त्यस्तै, बुङ्गल नगरपालिका–६ हापेखोलाबाट एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ भने मष्टा गाउँपालिका–२ का ४० वर्षीय राजेन्द्र रोकायालाई घरमा लुकाएर राखेको बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी पाँच उजुरी परेका छन्। हराएका ६ जनामध्ये पाँच जना फेला परेका छन्। घरेलु हिंसाका पाँचवटै उजुरीमा मिलापत्र गराइएको छ भने १९ वटा ठाडो उजुरी फछ्र्यौट भएका छन्।
यसैगरी, कार्तिक महिनामा भएका दुई सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ७ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १२२ सवारी साधनलाई कारबाही गरी १ लाख १६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर सवारी जाँच तथा अनुगमनलाई तीव्रता दिएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने, कागजात नबोक्ने र लापरबाहीपूर्वक सवारी चलाउनेमाथि कारबाही गरिने प्रहरीले जनाएको छ।





























