
आयो यो कलिकाल यो जगतमा लीला भयो लोभको ।
उल्टो भाव भयो सबै मनुजको विग्य्रो मती जीवको ।।
सारा कर्म भए सवै सुजनका लोभै र लाभै तिर ।
धर्मै यो सवको भयो फगतको देखावटी खातिर ।।
(१)
साचो ज्ञान सवै पराद्घ तिर नै लागे सवै काममा ।
कर्मैको अनुसार मानवहरु भागे सवै दाममा ।।
प्राप्तीको हक छैन यो जगतमा दुष्टै यि हावी भए ।
जस्ले यो छलसाज गर्छ जगमा ज्ञानी यि ब्यक्ती भए ।।
(२)
दुष्कर्मी जन यो सरा भुवनमा संन्यासि योगी बने ।
छोडी बेद रिचा यि विप्र जनले सारा दलाली बने ।।
साहुकै सव यो रजाई धनमा चर्चा उनैको यहां ।
पैसाकै बलमा भयो विगविगी को सत्यबादी यहां ।।
(३)
लागे कर्म अनेक लिच तिरका छोडेर संस्कार यो ।
लागे भन्न कथा सदा विषमका यो लोकका ब्यक्तिमा ।।
छोडे कर्म सवै समाज हितका लागे दलाली तिर ।
लागे कर्म अनेक यो जगतमा संस्कार बेच्ने तिर ।।
(४)
आफ्नालाइ बनाइ सेवक यहां अर्को वने प्रेममा ।
यस्तै यो रित यो समाज भरमा पत्नीहरु प्रेममा ।।
बुहारी अनि शासु बिच झगडा भन्छन् यि ढुलै भनी ।
अर्का लाइ लगाइ भेद घरको हुन्छन् यि नेता पनी ।।
(५)
लागे पूजनमा यि दुष्ट जनको हो देवता यो भनी ।
सत्यैको अपमा भो जगतमा दुष्टै अनीचा पनी ।।
श्रद्घाको द्दरमा सदा विजयको खेलिन्छ खेलै यहां ।
आफ्नै आगनमा विदग्ध तनको देखिन्छ लुट्ने यहां ।।
(६)
पाखा पर्वत लेक फाट वनका नाङ्गा बनेका यहां ।
झुप्रा वास वने सवै तिर यहा नीरीह वस्ती यहां ।।
सोझा सज्जनको रहेन ममता सत्कर्म टाढा भयो ।
सच्चा मानिसको निगाह मनको कस्ले त सुन्ने भयो ।।
(७)
हल्ला मात्र गरे हुने सव पुरा संस्कार यस्तो भयो ।
जस्ले गर्छ यहा अकर्म भवमा नामी त नेता भयो ।।
अंन्धा धुन्ध कुकर्मको छ रचना सत्कर्म उस्पार गो ।
आफ्नै बन्धु विनासमा तलिन भै आक्रान्त तल्लीन भो ।।
(८)
गाढा प्रेम थियो रहेन किन यो आचार यो भष्म भो ।
सेतो चंन्द्र समानका जनहरु सारै यहा दुष्ट भो ।।
खुल्ला हृर्दयका थिए सव जना सोचाई टाठा भयो ।
आफ्नै देह पराइको भर भयो पाश्र्वक बाकी रह्यो ।।
(९)
सत्यै खातिर प्रेमका रहरले संस्कार राख्नेहरु ।
साचो जीवन शान्तीका दिनहरु माग्दै यि लागे वरु ।।
पखाई सित वैलिए कमलका रंङ्गीन थुङ्गाहरु ।।
छोडी भागिसके कता क्षितिजमा सेता परेवाहरु ।।
(१०)
हाम्रा मौलिक सभ्यता अव यहा उस्पार जाने भए ।
हाम्रो गौरवको कुरा समयले दासत्व पार्ने भए ।।
साराको जनभाव लोकमतको धूत्याई बाचा गरे ।
पुर्खाको वलिदान सत्य पथको दीनत्व पार्ने भए ।।
लक्ष्मी दत्त भट्ट
धनगढी, कैलाली





























