एसिया कप छनौटका लागि आजदेखि एसिसी प्रिमियर कप सुरु, नेपालले आज मलेसियासँग खेल्दै

Image
Nisarga Hospital

ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ। साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। आज पहिलो खेल मलेसियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मैदान हुनेछ।

CP Hospital Dhangadhi

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्।

यो समूहमा हङकङले नेपाललाई केही चुनौती प्रस्तुत गर्न सक्छ। समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्। साउदी अरब र कम्बोडिया च्यालेन्जर्स कपको शीर्ष दुईमा रहँदै प्रिमियर कपका लागि छनोट भएका हुन्।