
सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधानका लागि भएको सहमति कार्यान्वयन नभएपछि मुख्यमन्त्री खगराज भट्टमाथि आफ्नै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र दबाब बढेको छ। पूरक बजेट ल्याउने र बजेट अध्ययनका लागि संसदीय समिति गठन गर्ने निर्णय कार्यान्वयन नभएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।

प्रदेश सरकारले तीन महिनाको बजेट शून्यतापछि गत २५ असोजमा बजेट प्रस्तुत गरेको थियो। तर, बजेट निर्माणमा त्रुटि र अनियमितता भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि बजेट पारित गर्न अन्योल भएको थियो। त्यसपछि मुख्यमन्त्री भट्ट र आर्थिक मामिलामन्त्री चक्र मल्लले समेत बजेटमा त्रुटि स्वीकार गर्दै २० कात्तिकभित्र संसदीय समितिको प्रतिवेदन तयार गर्ने र १ मंसिरभित्र पूरक बजेट ल्याउने सहमति गरेका थिए।
तर, निर्धारित समयसीमाभित्र दुवै निर्णय कार्यान्वयन नभएपछि असन्तुष्ट सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्न थालेका छन्। केही सांसदले भट्टलाई दलको नेता र मुख्यमन्त्री दुवै पदबाट हटाउने तयारीस्वरूप हस्ताक्षर अभियानसमेत चलाएको चर्चा छ। यद्यपि, पार्टीका शीर्ष नेताले विवाद समाधान गर्ने आश्वासन दिएपछि उक्त अभियान केही समयका लागि स्थगित गरिएको एक सांसदले बताएका छन्।
बजेट विवाद चर्किएपछि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सोमबार धनगढी आउने कार्यक्रम तय भएको छ। उनीहरूले प्रदेशभित्रको विवाद समाधानका लागि नेताहरू र असन्तुष्ट सांसदसँग छलफल गर्ने बताइएको छ।
बजेट विवादको असर पार्टीका संगठनात्मक गतिविधिमा समेत परेको छ। आगामी १० मंसिरदेखि सञ्चालन गर्ने तयारी गरिएको राष्ट्रिय जागरण अभियानसमेत सुदूरपश्चिममा सुरु हुन सकेको छैन।



























