
अत्तरिया ः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी विजय उत्सव यात्रा अछामको प्रसिद्ध बैजनाथ धामबाट सुरु गरेको छ।

एनपीएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान बैजनाथ धाममा पूजाआराधना तथा स्वस्तिवाचन गरी यात्रा सुरु गरिएको हो।
ट्रफी यात्राको सुरुवातसँगै बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्याली निकालिएको थियो। र्यालीमा क्रिकेटप्रेमी, समर्थक तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। निर्धारित कार्यतालिकाअनुसार मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ।
त्यस्तै, मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर आयोजना हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा–चाँदनी पुलसम्म र्याली निकालिनेछ।
ट्रफी यात्राको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ।
यसअघि एनपीएलका दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा च्याम्पियन बन्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। ट्रफी यात्रामार्फत टोलीले आफ्नो जितको खुसी सुदूरपश्चिमका समर्थकसँग साट्ने लक्ष्य राखेको छ।



























