गोदावरी–८ मजगाउँमा निःशुल्क आँखा जाँच शिविर, ४०१ जनाले लिए सेवा, ३६ जनाको निःशुल्क शल्यक्रिया गरिने

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा शनिबार निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट ४०१ जना लाभान्वित भएका छन्।

CP Hospital Dhangadhi

ग्वाँसी समैजी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थानीय आयोजनामा, गेटा आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेस्ट बैंक लिमिटेडको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

शिविरमा ४०१ जनाले आँखा परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएको ग्वाँसी समैजी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेश अधिकारीले जानकारी दिएका छन्।

आँखा परीक्षणका क्रममा ३६ जनामा शल्यक्रिया गर्नुपर्ने समस्या पहिचान भएको छ। उनीहरूको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ। यसले आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, परीक्षणका क्रममा चस्मा आवश्यक देखिएका सेवाग्राहीलाई सहुलियत मूल्यमा चस्मासमेत उपलब्ध गराइएको छ।

समितिका अध्यक्ष अधिकारीका अनुसार स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने र आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गरिएको हो। स्थानीयको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।