
बझाङ- बझाङमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका जंगली बँदेलले गाउँबस्तीमा पसेर किसानका बालीनाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरू समस्यामा परेका छन्। जिल्लाको थलारा गाउँपालिका ७ अदुकालीका ७० भन्दाबढी घरपरिवारको गहुँबालीमा पसेर बँदेलहरूले राति खेती नष्ट गर्ने क्रम बढेको छ।

किसानहरूका अनुसार, विगत केही दिनदेखि लगातार खप्तड राष्ट्रिय निकुञ्जबाट रातिको समयमा आएको बँदेलहरूको समूहले गहुँबाली खाएर खानुका साथै कुल्चिएर नष्ट गरिरहेको छ,, भने केराका बोटहरू समेत भाँचिदिएको छ । यसले गर्दा किसानको मेहनतको परिणाम जोखिममा परेको छ।
थलारा गाउँपालिका ७ अदुकाली क्षेत्रका किसान दिपक बहादुर चलाउने भने, “गहुँको बाली राम्रो फलेको थियो,तर जंगली बँदेलका कारण झन्डै आधा खेती नष्ट भइसकेको छ। यो समस्या समाधानका लागि ठोस कदम चाल्न सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”

जंगली जनावरबाट हुने क्षति रोक्न स्थानीय तह र राष्ट्रिय निकुञ्जले जनावरलाई नियन्त्रण गर्न र किसानलाई मुआब्जा उपलब्ध गराउन योजना बनाउन आवश्यक चलाउनेको भनाइ छ । साथै, राष्ट्रिय निकुञ्जले वन्यजन्तुको संरक्षण र किसानहरूको सुरक्षा बीच सन्तुलन कायम गर्ने उपाय अपनाउनुपर्ने त्यहाँका स्थानीयले माग गरेका छन्।

दीर्घकालीन समाधानको आवश्यकता
थलारा गाउँपालिका ७ अदुकाली गाउँ मात्रै नभइ राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूका किसानले अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । जंगली जनावरले वर्षेनि किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउन मुस्किल भएको हो । बर्सौदेखि जंगली जनावरबाट पीडित किसानहरूले सरकारले दीर्घकालीन समाधानको योजना बनाउनुपर्ने माग गरेका छन्। निकुञ्ज र गाउँबस्तीको सीमाना स्पष्ट गर्न, प्रभावकारी तारबार निर्माण गर्न, तथा किसानलाई क्षतिपूर्ति छिटो उपलब्ध गराउनुपर्ने उनीहरूको जोड छ।
यदि यो समस्या चाँडै समाधान नगरेमा किसानहरूको आर्थिक अवस्थामात्र होइन, राष्ट्रिय खाद्य सुरक्षामा पनि गम्भीर असर पर्ने देखिएको छ।






























