उपचारभन्दा रोग रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड, सुदूरपश्चिमको स्वास्थ्य समीक्षा सुरु

Image
Nisarga Hospital

डोटी: सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुक्रबारदेखि डोटीको राजपुरमा सुरु भएको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु भएको गोष्ठी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ। गोष्ठीमा प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद अस्पतालका प्रमुख र प्रतिनिधिसहित संघ तथा प्रदेश सरकार र विभिन्न दातृ निकायका प्रतिनिधिको सहभागिता छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमका अनुसार गोष्ठीमा गत आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको उपलब्धि, बजेट खर्च, कार्यान्वयनको अवस्था र आगामी रणनीतिबारे समीक्षा गरिनेछ।

उद्घाटन सत्रका वक्ताहरूले उपचारात्मक सेवाको विस्तारसँगै रोग लाग्नै नदिन रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। स्वस्थ जीवनशैली, स्वास्थ्य शिक्षा र नागरिकको औसत आयु वृद्धि गर्ने कार्यक्रम प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण सिंहले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न पर्याप्त बजेट, दक्ष जनशक्ति र सुविधासम्पन्न पूर्वाधार आवश्यक रहेको बताए। कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी सचिव संगीता ओझा र पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहलगायतले मन्तव्य राखेका थिए।