दुर्गमताबाट विकासको उज्यालोतर्फ : ओलानी क्षेत्रको नयाँ यात्रा

Image
Nisarga Hospital

अत्तरिया: कुनै समय विकटताको पर्याय बनेको गोदावरी नगरपालिका–१२, ओलानी क्षेत्रले आज दुर्गमता चिर्दै विकासको नयाँ अध्याय सुरु गरेको छ।

CP Hospital Dhangadhi

अतीतमा सडक सञ्जालको पहुँच बाहिर रहेको यो क्षेत्रमा अहिले पानीपिच गरिएको कालोपत्रे सडक बिछ्याइएपछि परिवर्तनको गति तीव्र भएको छ। एक समय बिरामीलाई काँधमा बोकेर धनगढी वा अत्तरियाका अस्पताल पुर्‍याउनुपर्ने बाध्यता अब इतिहास बनेको छ। पानीका लागि लामो समय कुर्नुपर्ने अवस्था पनि अन्त्य भएको छ।

स्थानीय बासिन्दाका अनुसार, पहिले बाटोमै बिरामीले ज्यान गुमाउने घटना सामान्य जस्तै थियो। तर, अहिले आधुनिक सडक र मोटरेबल पुल निर्माणसँगै सवारी साधन सजिलै सञ्चालनमा आउन थालेका छन्। परिणामस्वरूप बिरामीहरूलाई सुरक्षित र छिटो अस्पताल लैजान सकिने भएको छ। विगतमा खोला र नालाले वर्षेनी जनधनको क्षति गराउँथे, तर अहिले वडा नं. १०, ११ र १२ का प्रमुख खोलामा मोटरेबल पुलहरू निर्माण भई स्थायी समाधान खोजिएको छ।

nawajiwan

खानेपानीको क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल भएको छ। कुनै समय महिलाहरूलाई मध्यरातमा कुलाबाट पानी भर्नुपर्ने बाध्यता थियो। बिहान सबेरै उठेर धमिलो पानीको डरमा पानी संकलन गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अहिले करिब २४ सय घरधुरीमा शुद्ध खानेपानी सेवा विस्तार भएको छ। चाक्लेखोला पुल बनेपछि ओलानी सजिलै अत्तरियासँग जोडिएको छ।

स्वास्थ्य सेवामा समेत उल्लेख्य सुधार देखिएको छ। पहिले एचआइभी एड्स संक्रमणको उच्च जोखिममा रहेको यो क्षेत्रमा स्वास्थ्य सचेतनाको अभिवृद्धिसँगै जोखिम कम भएको छ। स्थानीयहरू आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच भएको महसुस गर्दै स्वास्थ्यप्रति सचेत भएका छन्।

Attariya Hospital

कृषि क्षेत्रमा पनि उत्साहजनक परिवर्तन आएको छ। मोहना सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध भएपछि कृषिमा उत्पादन वृद्धि भएको छ। गोदावरी नगरपालिका–१२ का अध्यक्ष भीमबहादुर खड्काले ओलानी क्षेत्रलाई बाख्रापालन र कुखुरापालनका लागि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको र यसले स्थानीयको आर्थिक स्तर उकास्ने विश्वास व्यक्त गरेका छन्।

विकाससँगै तेस्रो मुलुकमा रोजगारीका लागि जानेको सङ्ख्या समेत बढेको छ। पहिले भारतमा मजदुरी गर्न जाने चलन थियो भने अहिले तेस्रो मुलुकमा अवसर खोज्ने क्रम तीव्र बनेको छ।

यद्यपि, चापसल्ली जस्ता केही क्षेत्र अझै पनि विकासको मुख्य धारबाट केही पछि परेका छन्। वडाध्यक्ष खड्काले बाँकी समस्याहरू क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, २०७४ सालयता ओलानी क्षेत्रमा विकासले तीव्र गति लिएको छ।

चौकी डाँडा–फाल्टुडे सडक आयोजनाले गति लिएसँगै ओलानी क्षेत्रको भविष्य झन उज्ज्वल हुने अपेक्षा गरिएको छ। अध्यक्ष खड्काले भने, “अब ओलानी दुर्गम क्षेत्र रहेन। भूगोल पहाडी भए पनि हामी विकासको उज्यालो यात्रामा अघि बढिसकेका छौं।”

२०३०–४२ दशकतिर पहाडी जिल्लाबाट बसाइँ सरेर आएको ओलानी क्षेत्र विकासका अवसरबाट पछि परेको थियो। तर, अहिले स्थानीयहरूले विकासको मिठास अनुभूत गर्दै खुसी व्यक्त गरिरहेका छन्।