
सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ।

सोमबार मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो। बैतडी प्रदेशसभा (ख) बाट निर्वाचित भट्टलाई प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको हो।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ।


त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गरिएको छ। प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन्।
नवनियुक्त मन्त्री शिवराज भट्टको शपथग्रहण आज साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ। प्रदेश सरकारमा रिक्त मन्त्रालयमा जिम्मेवारी भएसँगै प्रशासनिक कामकारबाही थप सक्रिय हुने अपेक्षा गरिएको छ।































