
अत्तरिया: कैलालीको अत्तरियामा तीन जना युवाको संयुक्त लगानीमा ‘लाल्टिन क्याफे एण्ड बिस्ट्रो’ सञ्चालनमा आएको छ । आइतबार घटस्थापनाको शुभ अवसर पारेर पञ्चकन्याबाट क्याफेको उद्घाटन गरिएको हो ।

करिब १५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको क्याफेमा कफी, चियासहित आधुनिक खाजा तथा नेपाली परम्परागत परिकार उपलब्ध हुने सञ्चालकहरूले बताएका छन् । सहरीकरणसँगै अत्तरियामा बढ्दै गएको क्याफे संस्कृतिलाई थप व्यवस्थित र स्तरीय बनाउने उद्देश्यले व्यवसाय सुरु गरिएको उनीहरूको भनाइ छ ।
क्याफेका सञ्चालक मनोज दहालले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ युवाहरू मिलेर व्यवसाय सञ्चालनमा ल्याएको बताए । सहरको विस्तारसँगै खानपान तथा भेटघाटका लागि व्यवस्थित स्थानको आवश्यकता बढ्दै गएकाले क्याफे सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, अर्का सञ्चालक जय धामीले सुरुमा युवाहरू मिलेर चिया पसल खोल्ने योजना बनाएको र सोही योजनाले विस्तार हुँदै लाल्टिन क्याफे एण्ड बिस्ट्रोको रूप लिएको बताए । उनले क्याफेलाई आगामी दिनमा थप स्तरीय बनाउँदै नेपाली मौलिक तथा परम्परागत परिकारलाई समेत प्राथमिकताका साथ समेट्दै जाने योजना रहेको जानकारी दिए ।
क्याफेमा ग्राहकको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै चिया पिउने छुट्टै स्थान, क्याफे स्पेस, पारिवारिक स्पेस तथा स्मोकिङ जोनको व्यवस्था गरिएको सञ्चालक धामीले बताए । फरक प्रयोजन र आवश्यकताका ग्राहकलाई लक्षित गरी छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको उनको भनाइ छ ।
युवालाई स्वदेशमै रोजगारी तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले व्यवसाय सुरु गरिएको सञ्चालकहरूले बताएका छन् । देशमा बेरोजगारीको समस्या रहे पनि विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको अभावसमेत देखिएकाले युवालाई सीप, लगानी र अवसरसँग जोड्नुपर्ने उनीहरूको धारणा छ ।
सञ्चालक धामीले यस्ता व्यवसायलाई प्रोत्साहन गर्न राज्यले पनि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्थानीय स्तरमै लगानी र व्यवसाय विस्तार हुन सके युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
स्थानीय बजारमा नयाँ व्यवसायका रूपमा सञ्चालनमा आएको लाल्टिन क्याफे एण्ड बिस्ट्रोले अत्तरियाको खानपान तथा भेटघाट संस्कृतिमा नयाँ विकल्प थप्नुका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।































