
जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा विभागका वरिष्ठ मौसमविद्हरूले यस्तो तथ्य सार्वजनिक गरेका हुन्।
वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार यो वर्ष मनसुन अवधिभर स्थानअनुसार ३५ देखि ६५ प्रतिशत सम्भावनामा वर्षा सरदरभन्दा बढी हुने देखिएको छ।
त्यस्तै, अधिकतम तापक्रम पनि सामान्यभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। पोख्रेलका अनुसार अधिकतम र न्यूनतम तापक्रम ५५–६५ प्रतिशत, ४५–५५ प्रतिशत र ३५–४५ प्रतिशतको सम्भावनामा सामान्यभन्दा माथि रहने देखिएको छ।

उनले भनिन्:
“यो वर्षको मनसुन ऋतुमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना प्रबल देखिन्छ। यसले वातावरणीय असन्तुलन र विपद्को जोखिम बढाउन सक्छ।”

विभागकी अर्की वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भने,
“नेपालमा कुल वर्षाको करिब ८० प्रतिशत मनसुन अवधिमा हुने गर्छ। १२ महिनाको ४० प्रतिशतभन्दा बढी विपद् यही समयमा हुने भएकाले सचेत र तयारी अवस्थामा रहनुपर्ने हुन्छ।”
उनले बाढी, पहिरो, धनजनको क्षति तथा विपद्का अन्य सम्भाव्य घटनालाई मध्यनजर गर्दै स्थानीय र केन्द्र सरकार तथा सर्वसाधारण सबैलाई सचेत र तयारी अवस्थामा रहन आह्वान गरेकी छन्।
यो वर्षको मनसुन सामान्यभन्दा तीव्र हुने देखिएको हुँदा खासगरी पहाडी तथा बाढीप्रवण क्षेत्रका बासिन्दा, कृषक तथा नीति निर्माता सतर्क र जिम्मेवार बन्न जरुरी छ।






























