देशभर मनसुनी प्रभाव, यी पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि गरिएको छ।

आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका बासिन्दालाई भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।