
कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चक्र खडायत सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

मंगलबार विद्यालय, शिक्षक र अभिभावक समितिबीच बसेको संयुक्त बैठकले खडायतलाई अध्यक्ष चयन गरेको हो। नियुक्तिपछि आयोजित औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज जोशीसहित विद्यालय परिवारले खडायतलाई टिका र खादा लगाएर स्वागत तथा बधाई दिएका थिए।

हाल विद्यालयमा १८ जना शिक्षक/शिक्षिका र १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
नव-निर्वाचित अध्यक्ष खडायतले विद्यालयलाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो नेतृत्वमा नवीन योजना र दीर्घकालीन दृष्टिकोणसहित समग्र विकासमा ध्यान केन्द्रित गरिने बताएका छन्।
धनगढीस्थित नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) समेत रहेका खडायत समाजसेवी र बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्। उनको अध्यक्षतामा विद्यालयले गुणस्तर सुधारसहित आधुनिक शिक्षण प्रणालीतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।




























