नेपाल–भारत जोड्ने छारछुम मोटरेबल पुल सोमबार उद्घाटन हुँदै, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने

Image
Nisarga Hospital

दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल सोमबार उद्घाटन हुने भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २३ अर्थात् सोमबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतीय पक्षले जनाएको छ।

CP Hospital Dhangadhi

भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाका अनुसार उद्घाटनको समय भने निर्धारण भइसकेको छैन। उद्घाटन कार्यक्रमलाई लक्षित गरी पुल क्षेत्रमा सजावट तथा भर्चुअल प्रविधि जडानको तयारी भइरहेको छ। भारतको केन्द्र सरकारबाट समेत आवश्यक तयारी पूरा गर्न पत्राचार भएको उनले बताएका छन्।

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण भएको उक्त पुलको शिलान्यास आर्थिक वर्ष २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए।

भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो। महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको पुल सञ्चालनमा आएपछि नेपाल र भारतबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

पुल सञ्चालनको तयारीसँगै नेपालतर्फ सुरक्षा र भन्सार व्यवस्थापनका लागि अस्थायी संरचना निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्। उनका अनुसार प्रहरी बस्ने संरचना तयार भइसकेको छ भने भन्सार प्रयोजनका लागि आवश्यक संरचना निर्माण भइरहेको छ।

पुल सञ्चालनमा आएपछि दार्चुलासहित बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुनेछ। यसअघि महाकाली नदीमा रहेका झोलुङ्गे पुल र तुइनबाट जोखिमपूर्ण रूपमा सीमा पार गर्नुपर्ने बाध्यता थियो।

त्यस्तै, पुलले नेपाल–भारतबीचको व्यापारिक गतिविधि विस्तार गर्न तथा स्थानीय कृषिउपज, जडीबुटी र अन्य उत्पादनको सीमापार व्यापार प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भारतीय पर्यटकलाई सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने भएकाले यसले क्षेत्रीय पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।