
अत्तरिया: सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले प्रदेशको राजधानी गोदावरीमै यथावत् राख्नुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन्। राजधानी कार्यान्वयनमा राजनीतिक सहमतिको अभाव र कानुनी प्रक्रियाका कारण अप्ठ्यारो देखिएको उनको भनाइ छ।



गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको संयोजकत्वमा बोलाईएको सर्वदलीय बैठकमा बोल्दै राज्यमन्त्री बमले हालसम्म राजधानी सार्ने विषयमा प्रदेशसभामा कुनै आधिकारिक प्रस्ताव नआएको स्पष्ट पारे। “प्रदेशसभामा घोषणा भइसकेको स्थानबाट राजधानी सार्न एक इञ्च पनि अघि बढ्न दुई तिहाइ बहुमत आवश्यक पर्छ,” उनले भने, “त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले मात्र होइन, माओवादी केन्द्र र उन्मुक्ति पार्टीको समर्थन पनि अनिवार्य आवश्येक पर्ने बताएका छन ।”
बमले एमालेका केही सांसदहरूले राजधानी सार्ने पक्षमा आवाज उठाएकाले प्रक्रिया थप जटिल भएको धारणा व्यक्त गरे। उनले प्रदेश सरकारको राज्यमन्त्रीको हैसियतले प्रतिपक्षको शैलीमा धारणा राख्न कठिनाइ भए पनि कैलाली क्षेत्र नं. ४ का अन्य सांसदहरूले जनभावनाको प्रतिनिधित्व गर्दै गोदावरीमै राजधानी कायम राख्नुपर्ने आवाज संसदमा उठाइरहेको बताए।
१. धर्मसिंह कुँवर (माओवादी केन्द्र)
उनी भन्छन्, राजधानी सार्ने काम भित्रभित्रै निकै अगाडि बढिसकेको छ। राजधानी बनाउन अवरोध गरिरहेका विचौलियाहरूसँग जुझ्नका लागि आफू तयार रहेको बताए। सांसदहरूले गोदावरीलाई प्राथमिकतामा नराखेकोमा उनले आलोचना गरे।
२. नन्दराज भट्ट (राष्ट्रिय जनमोर्चा)
उनले गोदावरीबाट राजधानी सार्ने प्रयासप्रति आपत्ति जनाए। धनगढी अन्तर्राष्ट्रिय सीमासँग नजिक भएकाले राजधानीका लागि उपयुक्त स्थान नरहेको तर्क गरे।
३. कृष्णराज सुवेदी (पूर्व मन्त्री)
उनको भनाइमा, अन्य प्रदेशहरूमा पूर्वाधार निर्माण भएर मन्त्रालय सञ्चालन भइरहेका बेला सुदूरपश्चिममा राजधानी सार्ने कुरा दुर्भाग्यपूर्ण हो। सञ्चारमाध्यमहरूले पनि विगतमा गोदावरी राजधानी भाँड्न भूमिका खेलेको आरोप लगाए।
४. गोकर्ण भट्ट (एमाले)
उनले गोदावरी राजधानी घोषणाको बेला काँग्रेसले असहमति जनाएको स्मरण गराउँदै अहिले काँग्रेसले बढी जिम्मेवारी लिनुपर्ने बताए। संघीय सांसद बलायरले ६ महिनामा राजधानी बनाउने वाचा गरेको पनि उनले सम्झाए।
५. वसन्त रोकाया (कांग्रेस सभापति, क्षेत्र नं. ४)
उनले गोदावरीमा राजधानी बनाउन काँग्रेस प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्रीले राजधानी सार्नेबारे औपचारिक रूपमा केही नबोलेको जानकारी दिए।
६. धना देवी थापा (उपाध्यक्ष, चुरे गाउँपालिका)
उनको भनाइमा, गोदावरी राजधानी बनाउन सबैको साझा सहमति छ। यसमा चुरे गाउँपालिकाको स्पष्ट समर्थन रहेको उनले बताइन्।
७. खेमा देवी बिष्ट (प्रदेशसभा सदस्य)
उनले राजधानी सार्ने निर्णय गोप्य रूपमा अघि बढाइएको आरोप लगाइन्। मुख्यमन्त्रीले सर्वदलीय बैठक गरेको भए पनि आफूलाई जानकारी नदिएको गुनासो गरिन्।
८. जानकी पौडेल कुँवर (प्रदेशसभा सदस्य)
उनले राजधानी सार्ने चर्चा औपचारिक रूपमा बाहिर नआए पनि आन्तरिक रूपमा चलिरहेको संकेत गरिन्। आफूले संसदीय दलमा राजधानी सार्न नदिने निर्णयमा हस्ताक्षर नगर्ने बताइन्।
९. तुलसी देवकोटा (प्रदेशसभा सदस्य)
उनले राजधानी सार्नेबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नआएको उल्लेख गरिन्। पहिले दुई तिहाइले तोकेको गोदावरीमै राजधानी बनाउन बजेट छुट्याइनु पर्नेमा जोड दिइन्।
१०. प्रकाश बहादुर बम (अर्थ विकास राज्यमन्त्री)
उनले राजधानी सार्ने प्रस्ताव जनताको अपेक्षा र संविधान अनुसार नभएको बताए। दुई तिहाइ नपुगेसम्म राजधानी सार्न सम्भव छैन र गोदावरी नै उपयुक्त स्थान हो भन्नेमा आफु अडिग रहेको बताए।

११. वीरेन्द्र भट्ट (नगर प्रमुख)
नगर प्रमुख भट्टले सबै नेताहरूको धारणा सुनेपछि अबको रणनीति तय गर्न पुनः छलफल गरिने जानकारी दिए।

“हामी जनताका भावना र पार्टीको नीति दुवैलाई सन्तुलनमा राख्दै अघि बढिरहेका छौं,” उनले भने, “केन्द्र सरकारले चाहेमा राजधानी घोषणा गरिएको ठाउँमा भोगाधिकार प्राप्त गर्न समय लाग्दैन, तर हालसम्म न भोगाधिकार भएको छ, नत अदालतको मुद्दा टुंगिएको छ। त्यसैले कार्यान्वयनमा ढिलाइ भएको हो।”
राज्यमन्त्री बमले अब आरोप–प्रत्यारोपमा समय खेर फाल्नुको साटो सबै दल र सरोकारवाला एकजुट भई राजधानी कार्यान्वयनमा देखिएका वास्तविक समस्याको समाधानमा जुट्नुपर्ने आवश्यकता रहेको धारणा राखे। “हाम्रो पहिलो प्राथमिकता प्रदेशको समग्र विकास हो,” उनले जोड दिए, “त्यसका लागि सकारात्मक सोच, एकता र स्पष्ट दृष्टिकोण अनिवार्य छ।”
उक्त छलफलमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले राजधानीको विषयमा सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्नुपर्ने समय आएको बताए। उनले भने, “यो विषय केवल गोदावरीको मात्रै होइन, समग्र सुदूरपश्चिमको अस्तित्व र स्वाभिमानसँग जोडिएको हो। त्यसैले हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा राजधानी कायम राख्नुपर्ने माग गर्दै भएको सर्वदलीय सहमतिलाई स्मरण गराउँदै भने, “यदि राजधानी अन्यन्त्र सार्ने प्रयास भयो भने कैलाली क्षेत्र नं. ४ का चारजना प्रदेश सांसद, सबै राजनीतिक दल र स्थानीय जनताले एकजुट भई संघर्ष गर्न पछि पर्ने हुन्न समेत बतएका छन।”
बैठकमा प्रदेश सांसद तुलसी देवकोटा, सांसद जानकी कुवर, सांसद खेमा विष्ट, पूर्व सांसद कृष्णराज सुवेदी, गौरीगंगा नगरपालिकाका उप मेयर भोज बहादुर बम, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापा, नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति ललित रोकाया, एमाले नेता गोकर्ण भट्ट, माओवादी नेता मेघराज भट्ट, माओवादी ईन्चार्ज धर्म कुवर, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, जनमोर्चाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो।
बैठकले राजधानी गोदावरीमै कायम राख्नुपर्ने सर्वदलीय धारणा सार्वजनिक गर्दै आगामी दिनमा कुनै पनि निर्णय जनभावनाविपरीत गरिए संघर्षमा उत्रने चेतावनीसमेत दिएको छ।





























