
शुक्लाफाँटा नगरपालिकाले जेनजी प्रदर्शनका क्रममा ठूलो आर्थिक क्षति बेहोरेको छ। तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा कुल ३ करोड २५ लाख १ हजार ५५ रुपैयाँ बराबरको क्षति भएको छ।


नगरपालिकाको मुख्य प्रशासनिक भवन भने सुरक्षित रह्यो भनेका छन् प्रवक्ता लालबहादुर ऐर। नगरपालिकाको जिन्सी शाखा प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा परेको छ, जहाँ ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर र अभिलेख नष्ट भएका छन्। अन्य वडामा पनि ठूलो क्षति पुगेको छ—वडा नं १ मा ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा ४५ लाख ३ हजार ७२, वडा नं ३ मा २५ लाख १० हजार ४९४, वडा नं ५ मा २३ लाख १० हजार ७७१, वडा नं ६ मा १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा १५ लाख ५१ हजार ४९६, वडा नं २ मा १५ लाख ७३ हजार १४९, वडा नं ९ मा १५ लाख २२ हजार ५९१, वडा नं ४ मा १५ लाख १२ हजार ७८, वडा नं ११ मा १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा ७ लाख ४७ हजार ६८२ बराबरको क्षति भएको छ।
कार्यालय भवन, फर्निचर, कम्प्युटर र अभिलेख नष्ट भएपछि वडास्तरका सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्। हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत सेवा दिइरिए पनि स्रोत अभावका कारण सेवाग्राहीलाई समयमै सेवा दिन कठिनाइ भइरहेको जनप्रतिनिधिहरूले बताएका छन्।
स्थानीयवासीले पनि प्रत्यक्ष प्रभावित भएका छन्; पहिले वडास्तरमै सेवा पाउने नागरिक अब मुख्य कार्यालयसम्म पुग्न बाध्य छन्। नगरपालिकाले क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माणका लागि संघीय सरकारसँग बजेट व्यवस्थापनको माग गरेको छ।
शाखा प्रमुख कार्कीले भने, “मुख्य कार्यालय जोगिएको भए पनि वडास्तरमा ठूलो क्षति पुगेको छ। जिल्लामा सबैभन्दा बढी क्षति यस नगरपालिकाले भोगेको छ।” स्थानीयवासीहरूले प्रशासनिक संरचना र सेवाग्राहीको सुविधा छिट्टै पुनःस्थापित गर्न सरकारसँग आग्रह गरेका छन्।






























