जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै बेलौरीका कर्मचारीले गरे सेवा अवरुद्ध

Image
Nisarga Hospital

कञ्चनपुर : जेनजीको नाममा जथाभावी हस्तक्षेप गर्न खोजेको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन् । बेलौरी नगरपालिका कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू प्रवाह गर्न असमर्थ रहेको बताएका छन् ।

CP Hospital Dhangadhi

बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले जेनजीका नाममा केही व्यक्तिहरूले पटक–पटक कार्यालयमा आएर अराजकता फैलाउने काम गरेकाले कर्मचारीलाई काम गर्ने वातावरण नभएपछि सम्पूर्ण सेवाहरू प्रदान गर्न असमर्थ रहेको बताए।

पालिकास्थित कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै उचित वातावरण नमिलेसम्म सेवा सुचारु गर्न नसकिने जनाएका छन् । सूचना अधिकारी राजेन्द्र बिष्टले काम गर्ने वातावरण नभएपछि सेवा प्रवाह गर्न असमर्थ रहेको बताए ।

nawajiwan
Attariya Hospital

कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा गत भदौ २९ गतेदेखि निरन्तर जेनजी समर्थक समूह कार्यालयमा उपस्थित भई कर्मचारीहरूलाई विभिन्न किसिमका कपोकल्पित लाञ्छना लगाइ कर्मचारीहरूको मनोबल गिराउने, कार्यालयमा काम गर्ने वातावरण खलबल्याई निरन्तर अराजकता प्रदर्शन गर्दै आएकाले कार्यालयको दैनिक काममा बाधा पुगेको उल्लेख छ । यस विषम परिस्थितिमा काम गर्ने वातावरण नरहेको हुँदा सेवाहरू परवाह गर्न असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ ।

जेनजी समर्थकहरूले नगरपालिकामा काम गर्ने कर्मचारी नियुक्तिसम्बन्धी, करार कर्मचारी नियुक्तिसम्बन्धी सूचना माग गर्दै आएका छन् । उनीहरूले नगरप्रमुखले आफू निकटलाई नियुक्ति दिएको आरोप लगाउँदै आएका छन् ।

बेलौरी नगरपालिका कर्मचारी परिवारहरूले यस विषयमा नगर उपप्रमुख जोगराम चौधरी र नगर प्रमुख पोतीलाल चौधरीलाई जानकारी गराउँदै सेवा अवरुद्ध गरिएको बताएका छन् । नगरपालिकाका उपप्रमुख चौधरीले यस विषयमा (आज) बिहीबार कार्यपालिका बैठक डाकिएकाले आवश्यक मागहरू सम्बोधन गरी छिट्टै काममा फर्कने वातावरण मिलाइने बताए ।

Advertize US