
नागरिक उन्मुक्तिबाट बाहिरिएका रेशम चौधरी छुट्टै पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्। नाउपाबाट ठूलो पंक्ति बाहिरिएपछि चौधरीले आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेका छन्।

२०७८ पुसमा जेलभित्र पार्टी गठन गरेका चौधरी टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका थिए। त्यसैले पहिलो अधिवेशनमा पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए। २०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि चौधरीले पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित भए, तर निर्वाचन आयोगले कार्यसमिति अद्यावधिक गरेन।
गत साउन १४ गते राष्ट्रिय भेलाले पत्नी श्रेष्ठलाई हटाएर बाबु लालवीरलाई नेतृत्वमा ल्याए पनि आयोगले कमिटी अद्यावधिक नगर्दा चौधरीले नयाँ पार्टी गठन गर्न लागेको हो।


उनले नयाँ पार्टीले टीकापुर विद्रोहको भावना, जेन–जी पुस्ताको उत्सर्ग र नवयुवाको प्रतिनिधित्व गर्ने बताए। नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राखिएको छ। चौधरीका अनुसार अध्यक्ष जेन–जी (सन् १९९७–२०१३ भित्र जन्मिएका युवा) नै हुनेछन्, जसले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनेछ।
नयाँ पार्टीको अभियान देशभर फैलिँदैछ, जसले सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।
































