धनगढी : धनगढी उपमहानगरपालिकाले फेरि शनिवारीय महिला उद्यम बजार सञ्चालन गर्ने भएको छ । महिलाको श्रम, सम्मान र आर्थिक सशक्तिकरणका लागि मेला सञ्चालन गर्न लागेको हो ।
उपमहानगरपालिकाको शनिवारीय महिला उद्यम बजार सञ्चालन तथा व्यवस्थापन समितिको २०८१ असोज २१ गतेको निर्णय अनुसार “महिलाहरूको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियान” भन्ने नारासहित यो बजार सुरु गर्न लागिएको जनाएको छ ।


उपमहानगरले धनगढीको वडा नम्बर १ स्थित जेनजी मार्गमा प्रत्येक शनिबार बिहान २ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुने जनाएको छ । यस बजारमा सहभागी हुन इच्छुक महिलाहरूले रोजगार शाखामा असोज २७ गतेदेखि कात्तिक ११ गतेभित्र आवेदन फाराम भरेर पेश गर्नुपर्ने जनाएको छ । मेला कात्तिक १५ गते शनिवारदेखि हरेक शनिवार सञ्चालन हुने छ ।
धनगढी उपमहानगरपालिकाले यस अभियान मार्फत स्थानीय महिलाको उत्पादन तथा सीपलाई प्रोत्साहन गर्दै आर्थिक रूपले सबल बनाउने लक्ष्य लिएको छ । महिलाले घरमै उत्पादन गरेका सामग्री बिक्री–वितरण गर्न सक्ने अवसर प्रदान गर्ने भएकाले यो बजार महिलाको आत्मनिर्भरता र उद्यमशीलतामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय समुदाय, उपभोक्ता र महिला उद्यमीहरूलाई बजारमा सहभागी भई आफ्ना उत्पादनहरू प्रवद्र्धन गर्न उपमहानगरले आग्रह गरेको छ ।