
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित १९ खसी बरामद गरिएको छ भने एक जना व्यक्ति पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइएका अन्दाजी ३९ हजार रुपैयाँ मूल्यका मोबाइलका पाट्र्स वेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउँबाट कैलालीको गौरीगंगा नगरपालिका–७ बस्ने ३२ वर्षीय केशबबहादुर बोहरा पक्राउ परेका छन्। उनले चलाएको म १ च ३७९ नम्बरको जिपमा भारतबाट भन्सार छली गरी ल्याइएका १९ खसी फेला परेका हुन्।

अन्दाजी १५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको ती खसीसहितको जिप मझगाउँस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले चालक बोहरालाई समेत पक्राउ गरेको छ।
































