
कृष्णपुर: अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित एन्फा यू–१४ छात्र/छात्रा अन्तरविद्यालय स्तरीय छनौट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गतका फाइनल खेल सम्पन्न भएका छन्।

मंगलबार सम्पन्न छात्रा तर्फको पहिलो फाइनल खेलमा सरस्वती मा.वि वाणी र जीवन ज्योति मा.वि पुनर्वास आमनेसामने भएका थिए। निर्धारित समयमा उत्कृष्ट खेल प्रदर्शन गर्दै जीवन ज्योति मा.वि पुनर्वासले सरस्वती मा.विलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।

उता, छात्र तर्फको फाइनल भिडन्तमा सनलाईट पब्लिक स्कुल वाणी र सरस्वती माध्यमिक विद्यालय झरनासागर (बेलडाँडी–१) बीच प्रतिस्पर्धा भएको थियो। खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट मार्फत सरस्वती मा.वि झरनासागर विजयी बनेको हो।

विजयी दुवै टिम अब धनगढीमा हुने प्रदेशस्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। कृष्णपुर नगरपालिका–२ स्थित वाणी मछेली खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ६२ टिमको सहभागिता रहेको थियो। त्यसमा ४९ टिम छात्र तथा १३ टिम छात्रा तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए। जिल्ला स्तरीय छनौट प्रतियोगिता कार्तिक ३० गते देखि मंसिर २ गते सम्म सञ्चालित गरिएको थियो।


































