देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र तुवाँलोको सम्भावना

Image
Nisarga Hospital

देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। हिमाली क्षेत्रमा भने आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यसैगरी, काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यका तथा आसपासका खोँचसहित तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।