
कञ्चनपुर: लालझाडी गाउँपालिका ५ वाणीको श्री बैजनाथ बालज्योती आधारभूत विद्यालयले आफ्नो २७ औ वार्षिकोत्सब भव्यताका साथ मनाएको छ। शनिवार आयोजित २७ औ वार्षिकोत्सब मा सभाअध्यक्ष विद्यालय व्यवस्थापन समिती अध्यक्ष ललित बहादुर मल्ल, प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा ‘पातल’, विशिष्ट अतिथी लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा, कृष्णपुर २ का वडा अध्यक्ष अर्जुन सिह साउद, चर्चित देउडा गायक लाल बहादुर धामी”अछामी बड्डो”, विभिन्न विद्यालयका प्रधानाध्यापक, पुर्व प्रधानाध्यापक, शिक्षक शिक्षिका, समाजसेवी, अभिभावक र स्थानीयहरुको उल्लासमय उपस्थिति रहेको थियो।

कार्यक्रम मा विद्यालयको आय-व्यय प्रस्तुत, विद्यालयको वार्षिक प्रगती प्रतिवेदन, उत्कृष्ट शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

त्यस्तै वार्षिकोत्सब कार्यक्रममा विभिन्न विद्यार्थीहरुको सांस्कृतिक तथा नाटक प्रस्तुति कार्यक्रम रहेका थिए। विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट कार्य हासिल गरेको भन्दै विद्यालयबाट सम्मानित गरिएको थियो। विद्यालयको सुधारका निम्ति आर्थिक सहयोग गर्ने सहयोगी, चन्दादाताहरुलाई समेत सम्मान गरिएको हो।

वार्षिकोत्सब कार्यक्रममा चर्चित गायक लाल बहादुर धामी”अछामी बड्डाे” को बेजोड प्रस्तुतीमा स्थानीयहरुले देउडा खेल्नुका साथै उनका चर्चित गितहरुमा मनोरञ्जन लिएका थिए। कार्यक्रम सञ्चालक चर्चित उद्घोषक के.पि कलौनीका साथमा त्रिसिका बोगटी, डान्स कोरियिग्राफीमा कलाकार डान्स स्टुडियो का सञ्चालक प्रकाश धिक्त ले साथ दिएका थिए।

सामुदायिक विद्यालयमा हाम्रो लगानी छ, दक्ष शिक्षक छन तर अझैपनी हामी अभिभावकहरु चासो दिदैनौ, हाम्रो लगानी भएको विद्यालयमा आफ्ना नानिबाबुहरु पढाई के कस्तो छ बुझ्न आउदैनौ, हामीले चासो दियौ भने विद्यालय बन्छ, प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्थापन म गर्छु तर तपाईहरु आफ्ना नानिबाबु बैजनाथ मै पढाउनुहोस , विद्यालयको वार्षिकोत्सबले आफू प्रभावित भएको साथै विभिन्न विद्यार्थीहरुको क्षमता देख्ने अवसर आफुलाई मिलेको कार्यक्रमका प्रमुख अतिथी मन्त्री वीर बहादुर थापा’पातल ‘ ले बताएका छन्।
आ-आफ्नो क्षेत्रबाट हुनसक्ने पहल र आवश्यक समन्वय सहयोगका लागि तयार रहेको विशिष्ट अतिथी लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा र कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताए। वार्षिकोत्सबमा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक उमेश प्रसाद चौधरीले राखेका थिए, प्रधानाध्यापक चौधरीले विद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्था बारे र आ.व २०८१/८२ को आय-व्यय ४० लाख ४४ हजार ७ सय ७८ रुपैयाँ प्रस्तुत गरेका थिए। त्यस्तै विद्यालयका पिटिए अध्यक्ष रतनलाल भारतीले विद्यालयका क्रियाकलाप र आगामी बर्षका योजनाहरु प्रस्तुत गरेका थिए।

विद्यालय अध्यक्ष का रुपमा आफूले जिम्मेवारी पाईसकेपछि विद्यालयको सुधारका निम्ति आफुले सक्दो कार्य गरिरहेको, सबैजनाको सहयोगमा बैजनाथ विद्यालय लाई नमुना विद्यालय बनाउने, डिजिटल शिक्षा, कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाई हुने, विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिने विद्यालयमा कक्षा १० सम्मको पठनपाठन गराउन आफू पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर मल्लले बताएका छन्।
स्थानीय अभिभावकहरूले पछिल्ला वर्षहरूमा विद्यालयमा भौतिक तथा शैक्षिक सुधार उल्लेख्य रूपमा देखिएको बताउँदै विद्यालय नेतृत्वको सक्रियताप्रति प्रशंसा व्यक्त गरेका छन्। विद्यालयमा हाल ६४ छात्र र ५६ छात्रा गरि कुल १ सय २० जना विद्यार्थी अध्यनरत रहेको छ। विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ८ सम्म पठनपाठन भईरहेको छ।

































